काठमाडौं । हिमालय टाईम्सकर्मी एवम् इलामका क्रियाशील पत्रकार प्रकाश नेपाल पुरस्कृत हुनुभएको छ । बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको आठौ वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार -२०८१ बाट नेपाल पुरस्कृत हुनुभएको हो ।
हिमालय टाईम्स राष्ट्रिय दैनिकका जिल्ला संवाददाता नेपाल नयाँ बुलन्द डटकमका उपसम्पादकसमेत हुनुहुन्छ । सोमबार इलामको माङसेबुङमा आयोजित कार्यक्रममा नेपाल सम्मानित हुनुभएको हो । उहाँलाई प्रमुख अतिथी माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले दोसल्ला र सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मानसहित पुरस्कृत गरिएको नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताउनुभयो । ‘नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मानसहित पुरस्कृत गरिएको हो’ सम्पादक योङहाङले भन्नुभयो, ‘वार्षिक रूपमा एकजना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्नेछौँ ।’
को हुन् पत्रकार नेपाल?
पत्रकारिताको माध्यमबाट आवाज बिहिनहरुको आवाज बनेर सक्रिय भूमिका निर्वाह गर्ने एउटा शसक्त नाम हो प्रकाश नेपाल । इलामको इलाम नगरपालिका बडा नं ९ साबिकको ४ गोलाखर्क स्थायी घर भएका पत्रकार नेपाल बिगत ९ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् । मोफसलदेखि राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका नेपालले राष्ट्रियदेखि स्थानीय स्तरमा गरिदै आएको पत्रकारितालाई नजिकबाट नियालेका छन् ।
इलामबाट संचालित नयाँ बुलन्द डटकम अनलाइन पत्रिकामा उप सम्पादकको भूमिकामा कार्यरत उनले विभिन्न सञ्चारमाध्यममासमेत काम गरिरहेका छन् । २०७४ सालबाट इमेज टेलिभिजनमा प्रवेश गरेका उनी अहिले पनि इमेज टेलिभिजनसहित हिमशिखर टेलिभिजन, हिमालय टाइम्स राष्ट्रिय दैनिक, इमेज एफएम, इमेज न्युज एफएममा जिल्ला सम्बादाताको रुपमा काम गरिरहेका छन् ।
मोफसलबाट पत्रकारिता शुरु गरेका नेपाल छापा र विद्युतीय माध्यमका लागि खोज मूलक समाचार लेखनमा रुची राख्ने गर्दछन् । उनी यस अघि चियाबारी टाइम्स साप्ताहिक पत्रिका, चियाबारी एफएम, रेडियो हिमशिखर जस्ता सञ्चार माध्यममा रहेर काम गरिसकेका छन् ।
समाज रुपान्तरणका लागि पत्रकारिता बलियो आधार हो भन्ने मान्यता राख्ने नेपाल खोज मूलक पत्रकारितामा बढी रुची राख्छन् ।
२०५३ साल भदौ २० गते पिता रुद्र प्रसाद नेपाल र माता दुर्गा देबी नेपालका छोराका रुपमा जन्मिएका उनले विद्यार्थी अबस्थाबाटै पत्रकारितामा रुची राख्दै यो पेशा अंगालेका हुन् ।







