काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसका अवसरमा रिटर्नी उद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कोशी प्रदेशबाट झापाका दिपक चापागार्इं, बागमती प्रदेशबाट दोलखाका ज्ञानु खवास, लुम्बिनी प्रदेशबाट गुल्मीका रविलाल पन्त, गण्डकी प्रदेशबाट नवलपुरका शिवबहादुर केसी खत्री र कर्णाली प्रदेशबाट दैलेखका रामबहादुर बडुवाल रहेका छन् । रिटर्नी फेडेरेसनका इन्चार्ज कृष्णबहादुर केसीले विदेशमा दुःख गरेर फर्केका रिटर्नी एकजुट भएर उद्यमशीलतासहितको राजनीतिमा सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा देशको नेतृत्वमा रिटर्नीहरूले प्रतिनिधित्व गर्ने गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
राजनीतिक नेतृत्व र आगामी परिवर्तनको संवाहकका रूपमा रिटर्नीहरू हस्तक्षेपकारी ढंगले अघि बढ्न अध्ययनशीलसमेत हुनुपर्नेमा पनि उहाँले बताउनुभयो । फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सम्मान एउटा सांकेतिक सुरुवातमात्र भएकाले आगामी दिनमा रिटर्नीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम देशभरि फैलाउने बताउनुभयो । ६३ जिल्लामा फैलिएको संगठन सबै जिल्लामा फैलाएर देशव्यापी बनाउन स्थापना दिवसले प्रेरणा दिने उहाँको भनाइ थियो ।
सोही अवसरमा फेडेरेसन कास्की जिल्ला कमिटीको आयोजनामा पुष्पलाल स्मृति पार्क पोखरामा सरसफाइका साथै पार्टी कार्यालयमा केक काटेर स्थापना दिवस मनाइएको छ । झापामा स्थापना दिवस मनाउँदै बुद्धशान्ति गाउँपालिकामा भाष्कर गड्तौलाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ भने नवलपरासीमा धिरज खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।






