काठमाडौं । ललितपुर मेयर्स कपमा नेपाल एपिएफको विजयी सुरुवात गरेको छ । एपीएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२४ मा कोशी प्रदेशलाई २४ रनले हराउँदै विजयी सुरुवात गरेको हो । आइतबार दिउँसो वर्षाको कारण समयमै सुरु हुन नसकेपछि खेल पाँच/पाँच ओभरमा झारिएको थियो । ५७ रनको बलियो लक्ष्य पछ्याएको कोशीले पाँच ओभरमा दुई विकेट गुमाउँदै ३२ रन बनायो ।
कोशीकी कप्तान अप्सरी बेगमले २० बलमा दुई चौकासहित सर्वाधिक २५, काजोल श्रेष्ठले चार र सानु राजवंशीले दुई रन बनाउनुभयो । एपीएफकी सीता रानामगरले एक विकेट लिनुभयो ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले पाँच ओभरमा तीन विकेट गुमाउँदै ५६ रन जोडेको थियो ।
एपीएफकी इन्दू बर्माले १५ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ३८ रनको आक्रामक अविजित इनिङ खेल्नुभएको थियो । ओपनर ममता चौधरी नौ, सीता रानामगर दुई र रोमा थापा पाँच रनमा आउट हुनुभयो । कोशीकी एलिसा खडिया र हिरान्मई रोयले एक÷एक विकेट लिनुभयो ।
आइतबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ लाई डकवर्थ लेविस पद्धतिको आधारमा १६ रनले हराएको थियो । आयोजक टोली ललितपुर मेयर्स ११ लाई डिएल मेथडमा १६ रनले स्तब्ध पार्दै सुदूरपश्चिम विजयी भएको थियो । जितका लागि पाएको १२४ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा दुई विकेटको क्षतिमा ४५ रन बनाउँदा पानी परेपछि डिएल मेथडका आधारमा नतिजा निकालेको थियो ।
ललितपुरका लागि कप्तान पूजा महतोले १४ र सरस्वती जिएमले १२ रन बनाउनुभयो । सुदूरपश्चिमका लागि जानकी थापा र रितु कनौजियाले एक/एक विकेट हात पार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनायो ।
जसमा प्लेयर अफ द म्याचसमेत हुनुभएकी कप्तान बिन्दु रावलले २८ बलमा तीन चौकाको सहयोगमा ३० र कविता जोशीले २० बलमा दुई छक्काको सहयोगमा अविजित २५ रन बनाउनुभयो । ललितपुर ११ का लागि आरती महतो र कृतिका मरासिनीले समान दुई/दुई विकेट लिनुभयो ।
आज (सोमबार) पहिलो खेलमा बागमती र एपीएफबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।
ललितपुर मेयर्स च्याम्पियनसिपमा प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेका चार र पुग्न नसकेका बाँकी चार टोलीबाट ललितपुर ११ गरी पाँच टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ ।
पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुई टोली फाइनल खेल्ने छन् । यस अघिका दुई संस्करण एपिएफले जितेको थियो ।







Breaking news with related posts