काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सुधारोन्मुख देखिएका हुन् । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा पुगेको सरकारले समेत स्वीकार गर्दै आएको छ । सरकारले अर्थतन्त्रका वाह्य सूचकहरुमा सुधार भएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको भन्दै सुधार गर्ने बताइरहेको छ ।
अर्थतन्त्रका जानकार तथा निजी क्षेत्रले अर्थतन्त्रमा देखिएको शिथिलताले अर्थतन्त्र चलायमान हुन नसकेको दाबी गर्दै आएका छन् । तर नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा प्रायः सबै सूचकहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकको तथ्याङ्कले मुलुकको शिथिल रहेको अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको छ ।
तथ्याङ्कले सरकारको चालु खाता र शोधनान्तर वचत निरन्तर बढ्दै गएको देखाएको छ । अर्थतन्त्रमा देखिएको शिथिलताको कारण आन्तरिक अर्थतन्त्र कमजोर भएर आयातमा संकुचन हुँदा व्यापार घाटामा आएको कमीले चालु खाता र शोधनान्तर वचतमा देखिएको छ ।
राष्ट्र बैंकको सार्वजनिक गरेको तथ्याङ्कले गत वर्षको तुलनामा महँगीको वृद्धिदर घटेको देखाएको छ । मूल्यवृद्धि घट्नुले पनि अर्थतन्त्रमा केही सुधार हुने संकेत गरेको छ । त्यस्तै वाह्य अर्थतन्त्रको क्षेत्र मानिएको रेमिटेन्स उच्च रुपमा वृद्धि भएको छ । रेमिटेन्समा वृद्धि भएसँगै चालु आर्थिक वर्षको विदेशी मुद्रा सञ्चितिमा समेत उल्लेख सुधार भएर भएको छ । आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्राको सञ्चिति २२.७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तमा ११ खर्ब ७१ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यो अवधिमा सरकारको कुल खर्च ९ खर्ब ९ अर्ब ३९ करोड र राजश्व परिचालन सात खर्ब ४८ अर्ब ४ करोड रहेको छ ।
हरेक महिना १ खर्ब बढी रेमिटेन्स भित्रियो
पछिल्लो समय मुलुकमा हरेक महिना एक खर्ब भन्दा बढी रेमिटेन्स भित्रिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को ९ महिनाको तथ्यांक अनुसार चैतमा मासिक एक खर्ब २१ अर्ब ४० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । गत वर्षको यही अवधिमा नौ खर्ब तीन अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । रेमिटेन्स भित्रिने दरमा १९.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
रेमिटेन्स भित्रिने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ । चालु आ.वको ९ महिनाको अवधिमा बैंकहरूमा संकलन भएको निक्षेप ४ खर्ब ९ अर्ब रूपैयाँले निक्षेप बढेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ११ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको यो अवधिमा भने ५ लाख ४२ हजारले यस्तो स्वीकृति लिएका छन् । गत वर्षको नौ महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६ लाख पाँच हजार रहेका थिए ।
महँगीको वृद्धिदर घट्यो
गत वर्षको तुलनामा महँगीको वृद्धिदर घटेको देखाएको छ । मूल्यवृद्धि घट्नुले पनि अर्थतन्त्रमा केही सुधारको संकेत गरेको छ । २०८० चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशतमा सिमित रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.३३ प्रतिशतले घटेको छ ।
२०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत रहेको थियो ।
२०८० चैत महिनामा वार्षिक बिन्दुगत थोक (होलसेल) मुद्रास्फीति ४.९४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.५९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ९.६४ प्रतिशत, २.८८ प्रतिशत र १.५६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.२० प्रतिशतले घटेको छ ।
चालु खातामा सुधार, शोधनान्तर वचत साढे ३ खर्ब नाघ्यो
चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मुलुकको चालु खाता र शोेधनान्तर वचतमा सुधार देखिएको छ । मुलुकको चालु खाता र शोधनान्तर बचतमा रहनु भनेको अर्थतन्त्रमा सुधार देखिनु हो । तर अर्थतन्त्रमा आएको शिथिलताका कारण गत वर्षको तुलनामा व्यापार घाटामा देखिएको कमीले चालु खातासँगै शोधनान्तर बचतमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । चैतसम्म शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आ.व. यही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले वचतमा थियो । फागुनमा शोधनान्तर बचत ३ खर्ब २७ अर्ब ५५ करोड थियो । गत आ.व.मा वाह्य क्षेत्रमा सुधार हुँदै शोधनान्तर वचत २ खर्ब ९० अर्ब पुगेको थियो । चालु आव नौ महिनामै शोधनान्तर वचत गत आवभन्दा बढेर साढे ३ खर्ब पुगेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा वाह्य ऋण परिचालन बढ्ने हुँदा अझै शोधनान्तर वचतमा योगदान पुग्ने देखिन्छ । त्यस्तै चैत मसान्तसम्ममा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोड वचत रहेको राष्ट्र बैंकले जनाएको छ ।
निजी क्षेत्रमा कर्जा प्रवाह ४.६ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निजि क्षेत्रमा भएको कर्जा प्रवाह ४.६ प्रतिशतल वृद्धि भएको छ । ९ महिनामा २ खर्ब २२ अर्ब २१ करोडले कर्जा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रमा जाने कर्जा १ खर्ब ६१ अर्ब ९८ करोड (३.५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।
२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो। ९ महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरुको ४.२ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ ।
चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.४ प्रतिशत कर्जाको लागि चालु सम्पती (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो ।
कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.८ प्रतिशतले, नगद प्रवाह कर्जा २७.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), ट्रष्ट रिसिट (आयात) कर्जा ०.२ प्रतिशतले र हायर पर्चेज कर्जा १६.९ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको ९ महिना अवधिमा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ बराबरको कर्जा निजी क्षेत्रले लिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा निजी क्षेत्रले उक्त कर्जा लिएको देखाएको छ । गत वर्षको ९ महिनाको तुलनामा ४.६ प्रतिशतले कर्जा प्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ६१ अर्ब ९८ करोड रुपैयाँ भएको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.८ प्रतिशतले, नगद प्रवाह कर्जा २७.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.९ प्रतिशतले बढेको छ भने अधिकर्षण कर्जा ४३.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुन वर्गीकरणको कारणसमेत), ट्रष्ट रिसिट (आयात) कर्जा ०.२ प्रतिशतले र हायर पर्चेज कर्जा १६.९ प्रतिशतले घटेको छ ।
कर्जाको ब्याजदर २.३ प्रतिशत बिन्दुले घट्यो
वाणिज्य बैंकहरुद्वारा प्रवाहित कर्जाको औसत ब्याजदर घटेको छ । चालु आर्थिक वर्षको ९ महिनामा कर्जाको ब्याजदर २.३ प्रतिशत बिन्दुले घटेको देखिएको छ । गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको औसत कर्जाको ब्याजदर १२.८४ प्रतिशत थियो । जुन चालू वर्षको सोही अवधिमा १०.५५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय अवस्था सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) समेत १.९७ प्रतिशत बिन्दुले घटेको देखाएको हो । गत वर्षको चैत मसान्तसम्म १०.४८ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत बेसरेट चालु वर्षको सोही अवधिमा ८.५१ प्रतिशत कायम रहेको थियो ।
बैंकहरुको आधार दर नै घट्दा कर्जाको ब्याजदर समेत घटेको देखिन्छ । ब्याजदर घटेसँगै बैंकहरुबाट गत वर्षको चैत महिनासम्म परिवर्तित ब्याजदरमा ऋण लिने पुराना ऋणीलाई ब्याजको भार २.३ प्रतिशतले कम परेको छ । पुराना ऋणीहरुका लागि ब्याजभार घटिरहँदा नयाँ ऋणीहरुका लागि भने बैंकहरुले ब्याजदर घटाउने देखिँदैन ।
चालु वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको बेसरेट ८.६१ प्रतिशत कायम थियो। जुन अघिल्लो त्रैमासको तुलनामा घटेको हो। गत पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत बेसरेट ९.४४ प्रतिशत, असोज मसान्तमा १० प्रतिशत र गत असार मसान्तमा १०.०५ प्रतिशत कायम थियो।
कर्जाको ब्याजदर घटेसँगै निक्षेपको ब्याजदरसमेत औसतमा १.७३ प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको ९ महिनासम्म वाणिज्य बैंकहरुको औसत निक्षेप ब्याजदर ८.२६ प्रतिशत कायम रहेकोमा चालु वर्षको सोही अवधिमा ६.५३ प्रतिशत कायम भएको छ । औसत कर्जाको ब्याजदर विकास बैंकहरुको १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत कायम छ ।
निक्षेपतर्फ चालु वर्षको चैत मसान्तसम्म विकास बैंकहरुको ७.५८ प्रतिशत र वित्त कम्पनीहरुको ८.८२ प्रतिशत कायम छ । चालु आर्थिक वर्ष २०८०÷८१ को ९ महिनामा शेयर धितो कर्जा बढेर ८६ अर्ब १८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० चैत्रसम्मको अवधिमा मार्जिन प्रकृतिको कर्जा बढेर १२.९ प्रतिशतले बढेर ८६ अर्ब १८ करोड ५० लाख पुगेको हो । २०८० असारमा यस्तो कर्जा ७६ अर्ब ३० करोड थियो ।
निर्यात ३.७ प्रतिशत र आयात २.८ प्रतिशतले घट्यो
आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आएको छ । जसमा ११३ अर्ब ९५ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६.२ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई ११६७ अर्ब ३७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ प्रतिशत र २२.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले कमी आई १०५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो अनुपात ९.८ प्रतिशत नै रहेको थियो । नौ महिनामा आयात निर्यात कम भएको छ भने वस्तु उत्पादन समेत घटेको छ ।
चालु आव ९ महिनामा एक खर्ब विदेसियो
चालु आर्थिक वर्ष २०८०÷०८१ को नौ महिनामा विदेश अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीबाट करिब एक खर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो नौ महिनामा नेपाली पढ्नको लागि विदेश जाँदा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको तथ्याङ्क सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा नेपालीहरू विदेश जाँदा एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ देशबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । यसमध्ये शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपाली जाँदा एक खर्ब ५४ करोड रुपैयाँ बाहिरिएको थियो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाली विद्यार्थी पढ्नको लागि विदेश जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट देशले ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष यस्तो आम्दानी ४० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष २०७९/०८० को पहिलो नौ महिनामा नेपालले पर्यटकबाट ४३ अर्ब १७ करोड रुपैयाँ कमाएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts