काठमाडौं । विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो हुनुभएको छ । विजय पुरुष तथा पुष्पा महिलामा पहिलो हुनुभएको हो । विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेण्डमा पूरा गर्नुभयो । १३औँ सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेण्ड समयमा दोस्रो तथा हङकङमा भएको तेस्रो एसियाली युथ (यू-२०) एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेण्डमा तेस्रो हुनुभयो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेण्डमा तय गर्नुभयो । दोस्रो हुनुभएकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेण्ड समय निकाल्नुभयो । १ घण्टा ३५ मिनेट ४४ सेकेण्डमा सुशान कार्की तेस्रो बन्नुभयो । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
पुरुष पाँच किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेण्ड समयसाथ पहिलो स्थानमा रहनुभयो । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेण्ड) दोस्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेण्ड) तेस्रो हुनुभयो । सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेण्डमा पूरा गर्दै शर्मिला बस्नेत पहिलो हुनुभयो । २६ मिनेट ०९.३४ सेकेण्डमा सुस्मु डोल्मु तामाङ दोस्रो तथा ३२ मिनेट ३४.३६ सेकेण्डमा दिविका गुरुङ तेस्रो हुनुभयो । दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले पाँच हजारका दरले नगद पुरस्कार पाउनुभयो ।
विजेतालाई पूर्वमन्त्री धनराज गुरुङ, पूर्वप्रदेश सांसद राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनीतहरूलाई पत्र पनि हस्तान्तरण गरिएको थियो । नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको उपस्थितिमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका पूर्वमन्त्री धनराज गुरुङले दीपक गुरुङलाई महासचिव, राजुविक्रम थापालाई सचिव, दामोदर अर्याललाई प्रवक्ता तथा राजु ताम्राकार, दीपक थापा, तुलसी थापा र जग्जित केसीलाई सदस्यमा मनोनयन गरेको पत्र हस्तान्तरण गरिएको थियो । सुदिप डंगोललाई नेपाल लोकतान्त्रिक खेलकुद संघ, भक्तपुर जिल्ला समितिको अध्यक्षमा मनोनयन गरिएको पत्र पनि प्रदान गरिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts