काठमाडौं । नेपाली धावक गोपीचन्द्र पार्की लण्डन म्याराथनमा दौडने हुनुभएको छ । नवौँ धारा नेपालगञ्ज म्याराथनका विजेताका रूपमा गोपीचन्द्र लण्डन म्याराथनमा दौडने हुनुभएको हो । मंसिर ९ गते भएको नेपालगञ्ज म्याराथनको विजेतालाई लण्डन म्याराथनमा सहभागी गराउने आयोजक नेपालगञ्ज म्याराथनले त्यतिबेला नै घोषणा गरेको थियो । लण्डन म्याराथन २०८१ वैशाख ९ गते आयोजना हुँदैछ ।
नेपालगञ्ज म्याराथनले आफ्नो रनिङ पार्टनरका रूपमा नेपाल युके रनको सहकार्यमा गोपीलाई सहभागी गराउने निश्चित भएको नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । गोपीले २ घण्टा २१ मिनेट ३८ सेकेण्डमा नेपालगञ्ज म्याराथनको दौड पूरा गर्दै उपाधि जित्नुभएको थियो ।
नेपालगञ्ज म्याराथनका दुईपटकका विजेता गोपी १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेतासमेत हुनुहुन्छ । उहाँले सन् २०१९ मा नेपालमै भएको १३औँ सागमा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जित्नुभएको थियो ।
गोपीसँगै अन्य नेपाली धावकहरूलाई पनि विभिन्न अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी गराउन पहल भइरहेको नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले बताउनुभयो । उहाँले लण्डन ओलम्पिकमा नेपाली धावक दौड्नु देशकै लागि गर्वको कुरो भएको बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts