काठमाडौं । आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औँ लोयल्टी कप यू-१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले उद्घाटन खेलमा सिद्धार्थ बनस्थलीलाई २-० गोलले पराजित गर्यो ।
‘म्यान अफ द म्याच’ विंगु थापाले २ गोल गर्नुभयो । अर्को खेलमा लोयल्टी ‘बी’ ले काभ्यालाई ९-० को फराकिलो गोलअन्तरले सहजै हरायो । विंगु थापाले ५, साहिल राईले ३ र यसुप खनालले १ गोल गर्नुभयो । काभ्याका सुप्रिम केसी ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । दोहोरो जितसँगै लोयल्टी ‘बी’ को क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
चेल्सी वल्र्ड स्कुलले मनास्लुलाई २-० गोलले पाखा लगायो । चेल्सीका दर्शित थापा र शंकर शेर्पाले समान १-१ गोल गर्नुभयो । मनास्लुका निश्चल अधिकारी ‘म्यान अफ द म्याच’ चुनिनुभयो । रिलायन्स इन्टरनेसनल एकेडेमी र सिद्धार्थ बनस्थलीबीचको खेल १-१ गोलको बराबरीमा टुंगियो ।
प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गर्दै विद्यालय खेलकुदले भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो । लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्बाङले स्थापनाकालदेखि नै लोयल्टीले विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखी खेलकुदसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको बताउनुभयो । फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक लोयल्टीका दुईसहित १३ टिम सहभागी छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts