काठमाडौं । सार्वजनिक बाटो व्यक्तिको नाममा नापेको आरोपमा नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक बाटोलाई कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारेको अभियोगमा कैद र जरिवानाको मागदाबी लिएर सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
‘सार्वजनिक बाटोलाई व्यक्तिका नाममा कायम गरी व्यक्तिलाई नै लाभ हुने किसिमले खरिदबिक्री गर्ने/गराउने कार्यको कसुर गरेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ तथा दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिइएको छ’, मरासिनीको हकमा अख्तियारले दायर गरेको आरोप पत्रमा भनिएको छ ।
मरासिनीले जिल्ला रुपन्देही साविक बुटवल ९ (ख) मा पर्ने सार्वजनिक बाटो कायम रहेको कित्ता नं ४८६३ को जग्गालाई २०६३/६/२९ गते ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी कित्ता नं ५९७८ र ५९७९ कायम गरेको, कायम हुन आएको कित्ता नं ५९७९ लाई साबिक जग्गाधनीकै नाउँमा कायम गरिएको तर कित्ता नं ५९७८ लाई फाइल नक्सा नम्बर ५९८ मा पारी साबिकका जग्गाधनी हुँदै हालका जग्गाधनीलाई बिक्री गरिएको, यसरी सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्ति विशेषमा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारी जिल्ला रुपन्देही साबिक बुटवल ९ (ख) को कित्ता नं ३०४७ लाई फिल्डबाट नै गायब गराउने गरी प्रमाणित गर्ने कार्य गरेकोले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगको मुद्दामा मरासिनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी निकायको कागजातमा अनधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गर्ने तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ (ज) बमोजिम सार्वजनिक बाटोलाई व्यक्तिका नाउँमा कायम गरी व्यक्तिलाई नै लाभ हुने किसिमले खरिदबिक्री गर्ने गराउने कार्यको कसुर गरेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ तथा दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिइएको छ ।
मुद्दा दायर गरिएकामा मरासिनीका अलावा सोही कार्यालयका तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल र शोकत अली खाँ तथा जग्गाधनी नन्दबहादुर काला थापा र मानप्रसाद श्रेष्ठ छन् । जग्गाधनीहरूको हकमा जग्गा जफत गरी सार्वजनिक गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
मरासिनीसहितको यो टोली लामो समय रुपन्देही जिल्ला नापी तथा बुटवल नापी कार्यालयमा रहेका थिए । मरासिनी र अली सेवा निवृत भइसकेका छन् ।
‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत (अधिकृत दशौं तह) दीर्घनारायण कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ ५५ पैसा भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनी सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २ गतेदेखि २०७८ फागुन १२ सम्मको आम्दानी र खर्चको विवरण हेर्दा १ करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ ५५ पैसाको स्रोत खुलेको थिएन ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा सोही बराबरको बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी आयोगले गरेको छ । साथै, कोइरालाले श्रीमती गीता पौडेल कोइरालाको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खातामा रकम मौज्दात गरेकाले गीतालाई पनि प्रतिवादी बनाएको छ ।
स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गर्न गीतालाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts