सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आयोगका सचिव रामेश्वर दंगालको अध्यक्षता र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यतामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आइतबार कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणी पौडेलले राष्ट्रसेवक कर्मचारीहरूले सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाही र मोलाहिजा नगरी चुस्त दुरुस्त, छिटो छरितो र पारदर्शी रुपमा कार्य सम्पादन गरेमा भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले उजुरी पर्दैमा कर्मचारीहरू डराउन नपर्ने र आफ्नो काममा प्रतिवद्ध भएर कानून बमोजिम प्रभावकारी कार्य सम्पादन गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि देश संघीयतामा गइसकेकाले बन्न बाँकी आवश्यक कानूनहरू बन्नुपर्नेमा जोड दिनुभयो । कानूनहरूमा समायानुकुल परिवर्तन गर्नुपर्ने धारणा राख्दै उहाँले जनपक्षीय कानूनहरू निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो । सुशासन प्रवद्र्धनमा जनप्रतिनिधि र कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । कर्णाली प्रदेशमा कर्मचारीहरूको अभाव भएकोले आयोजना तथा परियोजनाहरू सोचिए अनुसार कार्यान्वयन प्रकृयामा अघाडि बढाउन नसकिएको उल्लेख गर्दै उहाँले आयोगबाट यस्ता किसिमका सुशासन प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरूले प्रदेश सरकारका काम कारबाहीमा सहजता ल्याउन मद्दत पुगेको जिकिर गर्नुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालले सहभागीहरूले राखेको जिज्ञासालाई सम्बोधन गर्दै सार्वजनिक निकायले कुनै पनि आयोजना तथा कार्यक्रमहरू छनौट गर्दा कार्यान्वयन योग्य र नतिजा दिने गरी छनौट गर्नुपर्ने र सोही बमोजिम कार्यान्वयनमा लिनुपर्ने कुरा उल्लेख गर्दै आयोगमा उजुरी पर्दैमा कोही डराउन नपर्ने तर कार्य सम्पादन गर्दा ऐन कानूनको पालना गर्दै स्वच्छ र पारदर्शी ढंगबाट कार्य सम्पादन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
सार्वजनिक पद धारण गरेको पदाधिकारीले कुनै पनि निर्णय प्रकृयामा सहभागी हुँदा त्यसको जिम्मेवारी र जवाफदेहिता आफैँले बहन गर्नुपर्ने हुँदा निर्णय गर्दा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
सचिव दंगालले आयोगले आफ्नो बार्षिक प्रतिवेदनमार्फत र पटक–पटक समयमा दिएका सुझाबहरू सबै निकायले पालना गर्नुपर्ने कुरामा जोड दिँदै सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतका कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले सहभागीहरूलाई स्वागत गर्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले आयोगको समग्र विवरण सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जि.सी., जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला बि.क., उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर बि.सी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, प्रदेश सरकारका सचिवहरू, संघीय, प्रादेशिक तथा स्थानीय तहका कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति थियो ।
असिस्टेन्ट सव-इञ्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा कार्यरत असिस्टेन्ट सव–इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
भवन निर्माण सम्पन्नको प्रमाण-पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । आयोगको टोलीले पन्तलाई सेवाग्राहीबाट लिएको २५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता थपलियाले जानकारी दिनुभएको छ । आयोगले उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।







Breaking news with related posts