कैलालीको जानकी गाउँपालिका मूर्तियामा बुबा प्रेमसिंह विश्वकर्मा र आमा अमृतादेवी विश्वकर्माको कोखबाट जन्मिनुभएका धुर्व विश्को यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । गायनसँगै संगीत र गीत निर्देशनमा पनि उत्तिकै सक्रिय रहनुभएका विश्कोले एक सय जति गीतमा आफ्नो स्वर दिनुभएको छ । उहाँका ‘जित्यो मायाले, तुसारोस, फुर्के रिवन, कर्ली कपाल, काग दाजै, कृष्णजीकी राधा, सिल्की कपाल उड्यो, राइफलको सिरानी, झन् झन् माया, मेरो प्रेम प्रस्ताव, तिम्रै हुन पाऊँ, आउने जाने, पियारी, जिरो फिगर, कोइली, के पर्यो कान्छीको पूरा नाम, लक्ष्मी कहिले काली ईश्वर देखेँ यसपाली’ जस्ता श्रोता/दर्शकमाझ लोकप्रिय छन् । आधुनिक, लोकपप, पप, भजन र चलचित्रलगायतका गीतमा स्वर दिनुभएका उहाँ ‘जति पनि दर्शक श्रोताले चिन्नुहुन्छ माया गर्नुहुन्छ त्यो माया पाउनुमा मेरा सबैको गीतको उत्तिकै महत्व छ’ भन्नुहुन्छ । नेपाली गीत संगीतको वर्तमान अवस्था राम्रो नभएको बताउनुहुने विश्को एकछिनको सस्तो पपुलारिटी पाउनलाई भन्दा जीवन्त रहिरहने सिर्जनामा जोड दिनुपर्ने जिकिर गर्नुहुन्छ । आफ्ना लागि जीवन एउटा संघर्ष रहेको र गीत संगीत जीवन जिउने आधार रहेको बताउनुहुने गायक धुर्व विश्कोसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यो क्षेत्रमा कसरी आउनुभयो ?
मलाई सानैदेखि गीत संगीत साह्रै मन पर्ने । बुबाले पनि गीत गाउनुहुन्थ्यो । सत्संगमा भजन गाउँथ्याँै । सायद त्यही प्रभावले म यो क्षेत्रमा हेलिँदै गएँ ।
धुर्व विश्को को हो ?
संगीतको असल विद्यार्थी भन्न रुचाउँछु म । अनि असल मान्छे बन्न संघर्ष गरिराखेको एक युवा ।
यहाँले चलचित्रका गीतमा पनि आफ्नो स्वर दिनुभएको छ । अन्य गीत पनि त्यत्तिकै रहेका छन् । गाउन कुन सजिलो लाग्छ अर्थात् सहज हुन्छ ?
हुन त दुइटै उस्तै हो । सजिलो गाह्रो भन्ने हुन्न । तर, चलचित्रका गीत गाउन मन पर्छ ।
गीत संगीत र जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरा लागि जीवन एउटा संघर्ष हो भने गीत संगीत जीवन जिउने आधार ।
धुर्व विश्को भनेर कुन गीतले चिनायो अर्थात् यहाँको करिअरको ‘ट्रनिङ प्वाइन्ट’ कुन गीतलाई लिनुहुन्छ ?
यही भन्ने भन्दा पनि सबै गीतहरूको उत्तिकै महत्व छ । जति पनि दर्शक श्रोताले चिन्नुहुन्छ माया गर्नुहुन्छ त्यो माया पाउनुमा मेरा सबैको गीतको उत्तिकै महत्व छ ।
यहाँका केही गीतले अवार्ड चुम्न सफल भएका छन्, कस्तो लाग्छ फर्केर हेर्दा ?
फर्केर हेर्दा खुसी नै लाग्छ । अझै लामो यात्रा तय गर्नुछ मैले । यहाँले भने जस्तै मेरा केही गीतले अवार्ड चुम्न सफल भएका छन् । अवार्ड नपाएका वा अवार्डमा सहभागी नभएका गीत पनि त्यत्तिकै सशक्त छन् भन्ने लाग्छ मलाई । अवार्ड नपाएका गीतलाई पनि दर्शक/श्रोताले औधी मन पराइदिनुभएको छ । खुसी लाग्छ । मैले पाश्र्व गायनबाट म्युजिक खबर अवार्ड, युगल गायनबाट सगरमाथा म्युजिक अवार्ड, बेस्ट संगीतकारको अवार्ड, हिमालयन अन्तर्राष्ट्रिय अवार्ड, बेस्ट गायन जुरी अवार्ड, नाट्यश्वर म्युजिक अवार्ड जस्ता अवार्ड प्राप्त गरेको छु ।
गीत संगीतको कुरामा सिर्जना कुनै पनि राम्रो, नराम्रो भन्ने त हुँदैन मेरो विचारमा । तर, स्रटाहरूले एकछिनको सस्तो पपुलारिटी पाउनलाई भन्दा पनि जीवन्त रहिरहने सिर्जना गर्नमा विश्वास गर्न थाल्नुभयो भने केही राम्रो सिर्जना बजारमा आउनेछन् र नेपाली गीत संगीतमा केही राहत हुन्छ । नयाँ आउने पिँढीलाई सही बाटो मिल्नेछ । तर, गीत राम्रो, नराम्रो सबै चलेको राम्रो किनकि सबै घरमा चुलो बल्नुपर्छ । नेपाली गीत संगीतको वर्तमान अवस्थालाई राम्रो बनाएर लाने जिम्मेवारी वर्तमान पुस्ताकै हो । हिजोको पुस्ताको गौरवलाई वर्तमान पुस्ताले थप उचाइमा लैजानुपर्छ । इतिहासले वर्तमान पुस्तालाई सुम्पिएको यो जिम्मेवारी हामीले वहन गर्दै भावी पुस्तालाई यो हस्तान्तरण गर्नुपर्छ ।
यहाँले भजनमा पनि स्वर दिनुभएको छ नि होइन ?
हो, भजनभन्दा पनि भक्तिभावका गीतहरू, एल्बम र चलचित्रको गीतमा आवाज दिने अवसर पाएको छु ।
अहिलेसम्म यहाँको स्वरमा कति जति गीत श्रोता/दर्शकमाझ आएका होलान् ? केहीको नाम लिनुपर्दा ?
अहिलेसम्म एल्बम र चलचित्र मिलाएर एक सय जति गीतहरू छन् ।
नेपाली गीत संगीतको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
नेपाली गीत संगीतको वर्तमान अवस्था त्यति सहज नभएको पाउँछु म । तर पनि स्रस्टाहरू निरन्तर लागि नै राख्नुभएको छ । एक दिन पुनः राम्रो हुनेछ नेपाली गीत संगीतको क्षेत्र भन्ने लाग्छ । केही राम्रा गीतहरू आइरहेका पनि छन् ।
राम्रा गीत भन्दा ‘झुर’ले बजार तताइरहँदा कस्तो अनुभूति हुन्छ ?
गीत संगीतको कुरामा सिर्जना कुनै पनि राम्रो नराम्रो भन्ने त हुँदैन मेरो विचारमा । तर, स्रटाहरूले एकछिनको सस्तो पपुलारिटी पाउनलाई भन्दा पनि जीवन्त रहिरहने सिर्जना गर्नमा विश्वास गर्न थाल्नुभयो भने केही राम्रो सिर्जना बजारमा आउनेछन् । यसले नेपाली गीत संगीतमा केही राहत हुन्छ र नयाँ आउने पिँढीलाई सही बाटो मिल्नेछ । तर, गीत राम्रो नराम्रो सबै चलेको राम्रो किनकि सबै घरमा चुलो बल्नुपर्छ । नेपाली गीत संगीतको वर्तमान अवस्थालाई राम्रो बनाएर लाने जिम्मेवारी वर्तमान पुस्ताकै हो । हिजोको पुस्ताको गौरवलाई वर्तमान पुस्ताले थप उचाइमा लैजानुपर्छ ।
पछिल्लो समय नेपालीपनका गीत कम आउन थाले भन्ने गरेको पाइन्छ नि, के यस्तै हो र ?
हो तर पनि गर्ने स्रस्टाहरूले नेपालीपनका गीतहरू गरिराख्नुभएको छ । हाम्रो मौलिकपन बचाइराख्नुभएको छ ।
गायन, संगीतसँगै यहाँलाई भिडियो निर्देशनमा पनि देखिने गर्छ नि ?
हजुर केही गीतका भिडियो निर्देशनमा पनि आफूलाई संलग्न गराएको छु । कुनै गीत आफूलाई मन पर्यो भने गरौँ जस्तो लाग्दा बेला-बेलामा गर्ने गरेको छु ।
नेपाली गीत संगीतमा अहिले के-कस्तो परिवर्तन भएको छ ?
पछिल्लो समय नेपाली संगीत बजार त्यति राम्रो नभए तापनि प्रविधि र नयाँ आउने जति पनि कलाकार र मेकरहरू हुनुहुन्छ सबै अपडेट हुनुहुन्छ । सायद यो परिवर्तनले भोलिका दिनमा गीत संगीत बजारलाई छलाङ मार्न सहयोग मिल्नेछ ।
यो क्षेत्रमा चुनौती के-कस्ता देख्नुहुन्छ ?
माथि भनेझैँ हामी अपडेट हुन त जरुरी छ । त्यसबाहेक हामीमा सबैभन्दा ठूलो चुनौती भनेको संस्कारको कमी छ । समय कालखण्डमा राम्रो, नराम्रो अवस्था हुनु, चुनौती आइलाग्नु सामान्य कुरा हो । समयसँगै राम्रो हुन्छ भन्ने लाग्छ । आशावादी बनौँ । नेपाली गीत संगीतमा मलाई लागेको सबैभन्दा ठूलो चुनौतीको कुरा भनेको संस्कार हो, जुन एकदमै जरुरी छ ।
बजारमा अवार्ड पाइरहेका गीत संगीतका बारेमा यहाँको धारणा के छ ?
अवार्ड भनेको राम्रो काम गरेबापत पाउने एउटा सम्मान हो । जसले राम्रो काम गर्नुभएको छ उहाँहरूले पाउनु भइरहेकै हुन्छ, पाउनु पनि पर्छ । तर, अवार्ड गर्ने जति पनि संघसंस्था छन् यो हेर्दा लाग्छ पछिल्लो समय अवार्ड एउटा खेतीझैँ भइरहेको छ । स्रस्टालाई सम्मान गर्नु, अवार्ड प्रदान गर्नु राम्रो कुरा हो । तर, हामीले दिइरहेको सम्मान सही स्रस्टालाई नै दिइरहेका छौँ या छैन भनेर अवार्ड गर्ने संघसंस्थाहरूले ध्यान दिन चाहिँ जरुरी छ भन्ने लाग्छ ।
गीत संगीतका विभिन्न गुट उपगुटलाई कसरी लिनुहुन्छ ?
मलाई के लाग्छ भने आफ्नो आफ्नो टिम हुनु राम्रो कुरा हो । किनकि एउटा काम गर्न एक्लैले हुँदैन त्यसैले गुट उपगुटलाई म नराम्रो भन्दिनँ, बस् हाम्रो गुटले अरूलाई असर गर्नुभएन ।
तपाईंको रुचि ? फुर्सदमा के गर्नुहुन्छ ?
मेरो त रुचि भने पनि, जे भने पनि म्युजिक नै हो । प्रायः त्यति फुर्सद त हुँदैन गायन, संगीत अनि निर्देशनको कुराले । तर, कहिलेकाहीँ समय हुँदा साथीहरूसँग रमाइलो अनि घुमघाम यस्तैमा जान्छ समय ।
यो क्षेत्रमा आउँदै गर्नुभएकाहरूका लागि के भन्न चाहनुहुन्छ ?
नयाँ आउने जति पनि हुनुहुन्छ म उहाँहरूलाई यतिमात्र भन्छु रहरले नआउनुहोस् । आउनुहुन्छ भने सिकेर आउनुहोस् । संस्कार जरुरी छ । क्षमता कम भए पनि फरक पर्दैन, काम गर्दै जाँदा सिक्नुहुन्छ, क्षमतावान बन्नुहुन्छ । तर, संस्कारचाहिँ जरुरी छ, संस्कारी बनेर आउनुहोस् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts