काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१० कपनमा रहेको रिलायन्स् एजुकेशन नेटवर्क अन्तर्गतका रिलायन्स् इन्टरनेशनल एकेडेमी र रिलायन्स्को एड स्कुलबाट २०७९ को एसइई परीक्षामा सफल हुने छात्रछात्राहरूलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको छ ।
रिया इन्टरनेशनलबाट ११६ जनामध्ये १०५ जना ए प्लस र ११ जना ए गरी सबैजना सफल भएका छन् । विद्यालयले दिएको जानकारी अनुसार सुभेक्षा पौडेलले जीपी ए ४ ल्याएर सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएको छ । उहाँलाई विद्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ ।
रिया इन्टरनेशनलको यो २३औं व्याज रहेको र हालसम्म करिब अठार सय छात्रछात्राहरूले यस विद्यालयबाट यो तह पूरा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी र विशेष अतिथि हिमालय टाइम्सका सम्पादक प्रा.पुरुषोत्तम दाहालसहित बोर्ड डाइरेक्टर र शिक्षकहरूले उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो । यसैगरी रियाको एडबाट सफल विद्यार्थीहरूलाई प्रमुख अतिथि हिटा सम्पादक प्रा.पुरुषोत्तम दाहाल, रिया एजुकेशन नेटवर्क अध्यक्ष रवीन्द्रजंग थापासहितले सम्मान गर्नुभएको थियो । कोएड्बाट परीक्षा दिएका ६५ जनामध्ये जीपी ए ३.९५ ल्याउने दुईजना सुभेक्षा पौडेल र सुप्रभा सापकोटालाई विशेष सम्मान प्रदान गरिएको थियो ।
विद्यालयले प्राप्त गरेको सफलतासहितको विवरण रिया इन्टरनेशलका प्रधानाध्यापक खेमलाल भुसाल र कोएड्का प्रधानाध्यापक दशरथ ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष थापाले रिया एजुकेशन नेटवर्कले देशभरका विद्यालयमध्ये निरन्तर उत्कृष्टता हासिल गरिरहेको र रिया इन्टरनेशनल कलेजले स्थापनाकालदेखि नै उत्कृष्ट दश स्थानभित्र रहेर ख्याति आर्जन गरेको जानकारी दिनुभएको थियो ।
राजुकुमार शिवाकोटी, महेश्वर पहारी, दामोदर निरौला, हरिप्रसाद आचार्य, विना सिंह शाही, विद्यार्थीहरू दृष्टि कुलुड., दिव्यानी अधिकारीको मन्तव्य, सफल बस्नेतको गजल, विद्यार्थीहरुले प्रस्तुत गरेको संगीत, गीत र नृत्य दुवै दिनका कार्यक्रम निकै रोचक भएका थिए । कार्यक्रममा मेयर अधिकारीले बुनपा शिक्षाको केन्द्र हुँदै गएको हुनाले यसलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विदेश पलायन हुने अवस्थाबाट युवाहरूलाई स्वदेशमानै योग्य बनाउने र रोजगार बनाउने तागत शिक्षामा नै रहेको विचार प्रकट गर्नुभएको थियो ।
प्रा.दाहालले दुवै दिनका कार्यक्रममा मन्तव्य प्रकट गर्दै भन्नुभयो, ‘शिक्षाले असल स्वभाव, असल चरित्र, असल व्यवहार गर्नसक्ने विज्ञ र सीपयुक्त पुस्ता निर्माण गर्नु आजको आवश्यकता रहेको छ । यसमा रिलायन्स् एजुकेशन नेटवर्कले विशेष योगदान दिएको छ । जसलाई निरन्तरता दिनु आवश्यक छ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता