काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार ३०८ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का १२२ जना विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ । ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गर्नुभयो । ‘आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यवहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।’ प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरूबाट सिक्नु पर्नेमा जोड दिनुभयो ।
समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा. रामप्रकाश यादवले जीवनमा संघर्ष र इमानदारीलाई पछ्याउन सकेमा सफलता हासिल हुने बताउनुभयो । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरू एकापसमा गाभ्ने नीति लिइएको जनाउनुभयो ।
दीक्षान्त समारोहमा विद्यार्थीसँगै उनीहरूका अभिभावक पनि रंगशाला पुगेका थिए । यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका हुन् । ५०औँ दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सवका रूपमा पनि मनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादवलगायत विद्यार्थी र अभिभावक सहभागी थिए ।
पुरस्कृत हुनेमा अधिकांश छात्रा
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरू पदकबाट पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा अधिकांश छात्रा छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायका एमफिल तहका हिरा श्रेष्ठले पाउनुभएको छ । उहाँले ३.९५ जिपिए ल्याउनुभएको छ । त्यस्तै, श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबिएकी सुधा काफ्लेले पाउनुभयो । अमृत पदक एमएस्सी रसायन शास्त्रका सुशील पोखरेलले प्राप्त गर्दा मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाउनुभयो । सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबिएसबाट रेबिका भण्डारीलाई प्रदान गरिएको छ । नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेलाई दिइयो भने डा.मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उहाँले नै पाउनुभएको छ । शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका सञ्जीवकुमार सिंहले पाउनुभएको छ । डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले पाउनुभएको छ । यसैगरी, इमिरेट्स प्राडा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले पाउनुभएको छ ।
नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाउनुभयो भने तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले हात पार्नुभयो । खगेन्द्रमान सिं प्रधान पदक चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि श्रीज्याले नै पाउनुभयो ।
सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरू मध्येबाट सीता कुमारी श्रेष्ठले हात पार्नुभएको छ । भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाउनुभएको छ भने सत्य माँ स्मृति स्वर्ण पदक पनि बिबिएका आकृति झाले नै पाउनुभयो । लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले पाउनुभयो । शिवराज पन्त स्मृति पुरस्कार सिभिल इञ्जिनियरिङका स्नातक तह बीई सिभिलका शाशिष थापाले प्राप्त गर्दा छत्रबहादुर पदक बिबिएसका समिता डंगोलले हात पार्नुभएको छ । यसैगरी, सुशीलादेवी शर्मा पुरस्कार बिएडकी छात्रा मध्येबाट संगीता प्रजापतिलाई प्रदान गरिएको छ ।






