काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले दर्ता गरेका विशेष अदालत काठमाडौंबाट विभिन्न मितिमा फैसला भएकामध्ये तीन मुद्दामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये परीक्षाको परिणाम फेरबदल, राजस्व चुहावट र घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो ।
परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा केशवप्रसाद घिमिरेसमेत पाँचजना विरुद्धको मुद्दामा विशेष अदालतले २०७९ असोज ४ गते सफाइ दिएको थियो । घुस रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा अविनाश कुँवरविरुद्धको मुद्दामा ३०७९ वैशाख २२ गते सफाइ दिएको थियो ।
यस्तै, आनन्द केशरी पोखरेलसमेत ३८ जनाले विशेष अदालतबाट सफाइ पाएका थिए । आयोगले उनीहरूविरुद्ध राजस्व चुहावट, कागजात नोक्सान तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले २०७९ पुस २६ गते सफाइ दिएको थियो ।
वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचारको मुद्दा
यस्तै, आयोगले जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनीहरूलाई ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई ५० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts