काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ । उनको वैध आम्दानी एक करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च तीन करोड सात लाख ३१ हजार ११६ रुपैयाँ पाँच पैसा देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको छ ।
अख्तियारले भट्टराईविरुद्ध एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भट्टराईले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको भन्दै उक्त रकम जफत गर्न माग गरेको छ । त्यस्तै आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति पनि जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता दाहालले बताउनुभएको छ ।






