काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदीमा नदीजन्य पदार्थको बोलपत्र आहृवान गर्दा ठेकेदारलाई गैरकानूनी आर्थिक लाभ हुने कार्य गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७८/०७९ मा महाकाली नदीबाट नदीजन्य पदार्थको रोयल्टी शुल्कमार्फत भवानी कन्स्ट्रक्सन प्रालिबाट उठाउनुपर्ने पाँच करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ नउठाएर राजस्व रकम हानिनोक्सानी गरेको आरोप लागेको हो ।
आयोगले बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुकारप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्यायसहित अन्य कर्मचारी र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । नगरपालिकाका कर्मचारीका कारण एक करोड ९५ लाख ७२ हजार बराबरको राजस्व चुहावट भएको दाबी अख्तियारको छ । उनीहरू दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (झ) बमोजिमको कैद सजाय र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोब्बर जरिबाना माग गरिएको छ ।
त्यस्तै, भवानी कन्स्ट्रक्सनबाट लिनुपर्ने तीन करोड ५० लाख बराबरको कर नलिएको भन्दै भट्ट र उपाध्यायलाई सोही रकम बराबरको बिगो माग गरिएको छ । आरोपपत्रमा नगरपालिकाका कर्मचारीहरू इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौँ सुवास अधिकारी, नायब सुब्बा विष्णुदेव भट्ट, लेखापाल (सहायक पाँचौँ) दिपेन्द्र चौधरीले गलत प्रतिवेदन तयार गरेको उल्लेख छ । त्यस्तै, राजस्व छलेको भन्दै भवानी कन्स्ट्रक्सनका सञ्चालकहरूबाट पाँच करोड ४३ लाख रुपैयाँ बराबरको बिगो तथा भ्रष्टाचार निवारण ऐन, २०५१ बमोजिमको सजाय माग दाबी गरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता