फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआरको काम अगाडि बढ्न सकेन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 7 mins

कैलाली । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अगाडि बढ्न सकेको छैन । फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम स्थापना गर्ने घोषणा गरेको सरकारले गत जेठमा पूर्वाधार निर्माण विकास समिति पनि गठन गरेको थियो । तर बजेट नपाउँदा समितिले त्यसको डीपीआर निर्माणको प्रकृया अगाडि बढाउन सकेको छैन ।

पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाहीले चालु आर्थिक वर्षमा डीपीआर निर्माणका लागि बजेट नआएको बताउनु भयो । ‘सरकारले रंगशाला निर्माण हुनुपर्ने हाम्रो माग सम्बोधन त ग-यो तर आवश्यक बजेट आएको छैन । डीपीआरका लागि बजेट छुट्याउनु पर्ने हो’ शाहीले भन्नुभयो, ‘देशको आर्थिक अवस्था कमजोर भएकाले पनि यस वर्ष बजेट नआएको बुझेका छौँ । आगामी वर्ष आउला ।’ समितिको कार्यालय सञ्चालन र व्यवस्थापनका लागि सरकारले यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । डिपीआरका लागि करिब २० करोड रुपैयाँ आवश्यक पर्ने समितिको अनुमान छ ।

फाप्लामा क्रिकेट रंगशाला निर्माण गरिनुपर्ने यहाँका बासिन्दाको एक दशकदेखिको माग सुनुवाइ गदै सरकारले अन्तर्राष्ट्रिय रंगशाला तथा खेलग्राम स्थापनाको निर्णयसहित विकास समिति गठन गर्नु र फाप्लाको साढे ३८ विघा जमिन भोगाधिकार दिने निर्णय गर्नु पनि ठूलो उपलब्धी भएको उहाले बताउनु भयो । फाप्ला देशभरमा खेलक्षेत्रकै सबैभन्दा ठूलो परियोजना हो ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मी समेतको सहभागितामा गत २९ असारमा धनगढीमा बसेको पूर्वाधार निर्माण विकास समितिको बैठकले डीपीआर निर्माणको काम तत्काल अगाडि बढाउने र त्यसका लागि सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको थियो । तर, सरकारी प्राथमिकतामा नपर्दा डीपिआरका लागि बजेट विनियोजन भएन । गत जेठमा गठन भएको समितिले करिब एक महिनाअघि धनगढीमा कार्यालय स्थापना गरेको छ । धनगढीमा कार्यालय राखिएपछि त्यसअघि काठमाडौँमा राखिएको कार्यालय अहिले समितिको सम्पर्क कार्यालयको रुपमा रहेको छ ।

रंगशाला तथा खेलग्राम स्थापनाको निर्णयले उत्साहित यहाँका खेलप्रेमी र स्थानीय बासिन्दा एक वर्षसम्म पनि प्रारम्भीक कामसमेत अगाडि नबढेपछि निराश छन् । नेपाल क्रिकेट संघका प्रदेश अध्यक्ष हरी रेग्मीले सरकारी प्राथमिकतामा नपर्दा रंगशाला र खेलग्राम निर्माणका प्रारम्भीक कामहरु अगाडि बढ्न नसकेको बताउनु भयो । फाप्लामा रंगशाला निर्माणको विषयलाई राजनीतिक दलहरुले चुनावका बेला भोट तान्ने माध्यममात्र बनाएको उहाको आरोप छ । ‘एक वर्षसम्म रंगशाला र खेलग्राम कस्तो बन्छ भन्नेनै एकीन छैन । यो छिट्टै बन्ला भन्ने हामीलाई विश्वास पनि छैन ।’ रेग्मीले भन्नुभयो, ‘अहिलेकै गतिमा काम हुने हो भने २० वर्ष लाग्छ ।’

ADVERTISEMENT

यहाँका खेलप्रेमी र स्थानीयले फाप्लामा क्रिकेट रंगशाला निर्माण हुनुपर्ने माग दशकदेखि गर्दै आएका छन् । विकास समितिका अध्यक्ष शाहीको नेतृत्वमा विगतमा ड्रिम फाप्ला अभियान सञ्चालन भएको थियो । फाप्लामा क्रिकेट रंगशाला निर्माणलाई प्रदेश गौरवको योजनाका रुपमा प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि बजेट विनियोजन गर्दै आएको थियो तर संघबाट जग्गाको भोगाधिकार नपाउँदा खर्च नभएर बजेट फिर्ता जाने गरेको थियो ।

मैदान अलपत्र

विगतमा धनगढी प्रिमियर लिगजस्ता देशकै ठूला क्रिकेट प्रतियोगिता भएको फाप्ला मैदान संरक्षणको अभावमा अलपत्र छ । प्रदेश सरकारको करिब ६० लाख रुपैयाँ लगानीमा मैदान वरिपरी तारवार गरिएको छ तर संरक्षण नहुँदा मैदान गौचरण बनेको छ । जसले गर्दा क्रिकेट प्रतियोगिताहरु ग्र्दा मैदान निर्माणमा खर्च गर्नुपर्ने अवस्था छ ।

‘मैदान गौचरण बनेको छ । फुटबल त्यही खेलिन्छ । मान्छेले मोटरसाइकल त्यहीँ सिक्छन् । सुरक्षा छैन ।’ गत महिना फाप्लामा विद्यालयस्तरीय लिटल फ्लावर राष्ट्रिय प्रिमियर लिग आयोजना गरेको लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्टस्का अध्यक्ष रामचन्द्र शाहीले भन्नुभयो, ‘संरक्षण नहुँदा प्रतियोगितापिच्छे मैदान बनाउनु पर्छ ।’ क्यानका प्रदेश अध्यक्ष रेग्मी क्रिकेटको उर्बर भूमि सुदूरपश्चिममा एउटा गतिलो खेल मैदान नहुनु दुखद भएको बताउनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?