स्वर्णधारी संगीता म्यादीमा भर्ना

रासस
रासस
Read Time = 6 mins

महेन्द्रनगर । खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रूपमा आफूलाई स्थापित गर्नुभएकी कुस्ती खेलाडी संगीता धामी आसन्न मंसिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना हुनुभएको छ ।

पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ । हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३औँ दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलोपटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुनुहुन्छ ।

‘हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा गर्‍यौँ,’ हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भन्नुभयो, ‘तर, राज्यले इतिहास रच्ने खेलाडीको रोजगारीको ग्यारेन्टी नगर्दा खेलाडी हुँ भन्न पनि गाह्रो मान्नुपर्ने अवस्था आयो ।’
दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर हुनुभएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुबाको घरमा बस्दै आउनुभएको छ । बाल्यावस्थामै बुबा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ ।

‘आमाले भैंसीपालन गरेर दूध बेचेर हामीलाई यहाँसम्म पुर्‍याउनुभयो,’ उहाँले भन्नुभयो, ‘अहिले कहिलेकाहीँ म पनि दूध बेच्न महेन्द्रनगर बजार आउँछु ।’ धामी म्यादी प्रहरीमा भर्नासँगै यहीबीचमा नवौँमा स्वर्ण जितेर आउनुभयो ।

सागमा स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले घरखर्च चलेको उहाँको भनाइ छ । ‘सानैमा बुबाले आमालाई छाडेर जाँदा लगाउने खाने रहर अधुरै रहृयो,’ धामीले भन्नुभयो, ‘म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ ।’

ADVERTISEMENT

संगीताकी बहिनी रीता प्रवीणता प्रमाणपत्र तह र संगीता स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । ‘दुवैको खर्च पनि मेरै खेलकुदबाट आएको रकमले चलेको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले स्वर्ण जितेर आउँदा बुबाले रातो टीकासम्म लगाएर हौसला दिनुभएन ।’
खेलकुद र पढाइलाई निरन्तरता दिनुभएकी संगीताले नेपाली सेना र प्रहरीमा जागिर खाने धोको पूरा नहुनेमा चिन्ता रहेको दुखेसो पोख्नुभयो । ‘अन्तर्राष्ट्रियस्तरमा पदक मुलुकलाई दिलाउँदा कतै जागिर पाइन्छ कि भन्ने आशा थियो,’ उहाँले भन्नुभयो, ‘अहिले पनि यति ठूलोे खेलाडी म्यादीमा हुँदा समाजले कति कुरा काट्छन् कि भनेर चिन्ता हुन्छ ।’

खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उहाँको भनाइ छ । ‘पदक दिलाउने खेलाडीलाई पालिकास्तरसम्म भए पनि जागिरको व्यवस्था गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘शरीरमा ताकत हुँदा खेले पनि पछि गएर जीविका चलाउन बाहिरिनुपर्ने बाध्यता भयो ।’

उहाँले अन्य मुलुकमा अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने खेलाडीलाई सम्मान र रोजगारीको कुनै कमी नहुने गरेको बताउनुभयो । ‘अहिले म्यादीमा भर्ना भएर राज्यले गरिरहेको चुनावमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाउँदा हर्षित नै छु,’ उहाँले भन्नुभयो, ‘स्थायी रोजगारी पाउने आशै आशमा निराशा छाएको छ ।’

संगीतासँगै कुस्तीकी नवौँ राष्ट्रिय प्रतियोगितामा अर्की स्वर्णपदक विजेता खेलाडी हेमा भट्टलगायत पाँच/छजना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादीमा भर्ना भएका छन् । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीलाई राज्यले सुविधा दिने विषयमा सोच्नुपर्ने बेला आएको बताउनुभयो । ‘सागमा स्वर्ण जित्ने चेलीले आज जागिरका लागि भांैतारिनुपर्ने बाध्यता आउनु राम्रो कुरो होइन,’ उहाँले भन्नुभयो, ‘अब पालिकामा पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्थाका लागि गुहार माग्छौँ ।’ उहाँले खेलाडी भएर बाँच्न मात्रै गाह्रो रहेको बताउनुभयो । नवौँ राष्ट्रियमा सुदूरपश्चिमले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण दिलाएका थिए । रासस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?