उपन्यासकार नारद पोखरेलको नयाँ उपन्यास ‘उर्वरा’ पाठकमाझ आएको छ । यसअघि ‘नयाँ बाटो’ (२०४०), ‘सिर्जना’ (२०४६), ‘प्रतिघात’ (२०७८) जस्ता उपन्यास पाठकमाझ ल्याउनुभएका पोखरेलको चौथो उपन्यास ‘उर्वरा’ पाठकमाझ आएको हो । उपन्यास लेखनमा आफूलाई स्थापित गर्नुभएका पोखरेलको यो उपन्यासले यतिबेला पाठकको माया पाइरहेको छ । नौलो शैलीमा लेखिएकोे यस उपन्यासलाई स्वदेश प्रकाशनले पाठकमाझ ल्याएको हो । अशोक खनालको सुन्दर आवरण कला रहेको ३५२ पृष्ठको उपन्यासको लेआट सुमन कार्कीले गर्नुभएको छ । आवरण पृष्ठभूमि गंगाधर सारूद्वारा सिर्जित प्रस्तरकला रहेको छ ।
विसं २०३० देखि साहित्यमा आफूलाई तल्लिन राख्दै आउनुभएका पोखरेल मोफसल विराटनगरमा रहेर आफ्ना सिर्जनलाई पाठकमाझ पुर्याइरहनुभएको छ । साहित्यका सुरुका दिनमा आफूलाई कविता र गीत लेखनमा सक्रिय राख्नुभएका उहाँ पछिल्लो समय आख्यानमा बढी व्यस्त देखिनुभएको छ । विसं २०४० सालमा पहिलो औपन्यासिक कृति ‘नयाँ बाटो’ पाठकमाझ ल्याएर उहाँ आख्यान लेखनमा औपचारिक रूपमा होमिनुभएको हो । पहिलो उपन्यासले नै पाठकमाझ एक खालको छाप छोड्न सफल उहाँको विसं. २०४६ सालमा आएको ‘सिर्जना’ उपन्यासले परिचयलाई थप अग्लो बनायो । आख्यान लेखनमा पाठकको राम्रो प्रतिक्रिया पाइरहे पनि उहाँ बीचमा केही समय ओझेल पर्नुभयो । योबीचमा उहाँका फुटकर सिर्जना भने सार्वजनिक भइरहे । विसं २०७९ मा आफ्ना फुटकर सिर्जनाको संगालो ‘बाटो बिराएपछि’ उहाँको पाठकमाझ आयो । उपन्यासका पाण्डुलिपि बनाएर विविध कारणले पाठकमाझ ल्याउन नपाउनुभएका उहाँले विसं २०७८ तेस्रो उपन्यास ‘प्रतिघात’मार्फत आफ्नो सशक्त उपस्थिति जनाउनुभयो । यो उपन्यासले उहाँका यसअघिका भन्दा अझ बढी चर्चा बटुल्न सफल भयो । यो उपन्यासले विभिन्न पुरस्कार, अवार्ड र सम्मानसमेत उहाँलाई दिलायो । पाठकको राम्रो प्रतिक्रियाले हौसिनुभएका उहाँले चौथो उपन्यास र आफ्नो पाँचौं कृति ‘उर्वरा’मार्फत पुनः सशक्त उपस्थिति जनाउनु भएको छ नेपाली उपन्यास लेखनमा ।
‘क’देखि ‘ज्ञ’सम्मका बैग्लाबेग्लै अग्र शब्दबाट शीर्षक राखेर नेपाली आख्यान साहित्यमा उहाँल सफल प्रयोगात्मक लेखन गर्नुभएको छ । ‘उर्वरा’मार्फत् प्रयोग गरिएको आख्यान लेखनको नवीन शैलीले नेपाली साहित्यमा एउटा मानक इँटा थपेको छ ।
यस उपन्यासमा पोखरेलले ‘अचल’, ‘आत्मगात’, ‘इखालु’, ‘ईहामृग’, ‘उत्प्रेरक’, ‘ऊहापोह’, ‘ऋषिकल्प’, ‘एकतमास’, ‘ऐनाघर’, ‘ओइरालो’, ‘औडाहा’, ‘अंशावतार’, ‘कटकरी’, ‘खरानी’, ‘गतानुगत’, ‘घनरस’, ‘चलपत्र’, ‘छलकपट’, ‘जलमग्न’, ‘झञ्झानिल’, ‘टकटका’, ‘ठहर’, ‘डकुमेन्ट्री’, ‘ढड्यान’, ‘तटस्थ’, ‘थलोकिलो’, ‘दयित’, ‘धवलिमा’, ‘नवीकरण’, ‘परिक्रमण’, ‘फसाद’, ‘बलात्’, ‘भक्कानो’, ‘मदिर’, ‘यथावत्’, ‘रदलबदल’, ‘लब्धि’, ‘वत्सल’, ‘शल्य’, ‘षडभिज्ञ’, ‘सघन’, ‘हवास’, ‘क्षणिका’, ‘त्रयी’ र ‘ज्ञप्ति’ जस्ता शीर्षकमा विषयवस्तु पस्किनुभएको छ ।
‘क’देखि ‘ज्ञ’सम्मका बैग्लाबेग्लै अग्र शब्दबाट शीर्षक राखेर नेपाली आख्यान साहित्यमा उहाँले सफल प्रयोगात्मक लेखन गर्नुभएको छ । ‘उर्वरा’मार्फत् प्रयोग गरिएको आख्यान लेखनको नवीन शैलीले नेपाली साहित्यमा एउटा मानक इँटा थपेको छ भन्दा अतिशयोक्ति नहोला । यो उपन्यासको पृष्ठभूमि पूर्वको विराटनगर, सुनसरीदेखि काठमाडौं, पोखरासम्म अनि अष्ट्रेलिया र युरोपका भू-भागसम्म फैलिएको छ । ती स्थानहरूको सटिक परिवेशको चित्रण पनि यसमा गरिएको छ । उपन्यास पढदै गर्दा पाठकले आफूलाई ती स्थानमा भ्रमण गरेको जस्तै पनि अनुभव प्राप्त गर्न सक्छन् । ती स्थानका बारेमा धेरै कुरा जानकारी मिल्दछ । उपन्यासले कहिले स्वदेश त कुनैबेला विदेश सयर गराउछ पाठकलाई ।
उपन्यासको केन्द्रीय पात्रमा जयन्त र शिल्पा रहेका छन् । उनीहरूको वरिपरि नै यस उपन्यासको कथानक सुरु र अन्त्यसम्म घुमिरहन्छ । उनीहरूको जीवनका विभिन्न आरोह अवारोहबीच उपन्यास अघि बढछ् । विभिन्न सुखद् पक्ष र दुखद् पक्षबीच अघि बढेको उपन्यासलाई लेखकले संयोगात्मक बनाउनुभएको छ । परम्परा र संस्कृतिका कारण प्रेमिल जोडीले जीवनमा पाउनुसम्मको हनेक ठक्कर र हण्डरलाई लेखकले बडो कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ । उनीहरूका विभिन्न घटनाक्रमलाई लेखक पोखरेलले सुन्दर रूपमा यसमा चित्रण गर्नुभएको छ । पुस्तकको आकार मोटो भएपनि पढन बसेपछि नसकिदासम्म पाठकलाई यसले बाधी राख्द्छ, कौतुहल बनाइ राख्द्छ, रोचकता प्रदान गर्दछ । ३५२ पृष्ठको मोटो उपन्यास एक बसाइँमै सक्न मन लाग्नु यसको विशेषता हो ।
उपन्यासका पात्रहरूको प्रेमका विभिन्न उतार चढावका परिवेशले यसलाई यथार्थपरक बनाएको छ । भाषाशैली निक्कै राम्रो रहेको यो उपन्यासको प्रस्तुति एकदमै लोभलाग्दो छ । जतिसुकै बाधा अडचन आए पनि साचो प्रेम अमर हुँने लेखकले यस कृतिमार्फत बताउन खोज्नुभएको छ ।
‘उर्वरा’ उपन्यासमा जयन्त र शिल्पाको प्रेम कथा समेटिएको छ । तर, सांस्कृतिक भिन्नताले उनीहरूबीच विछोड हुने बाध्यता हुन्छ । जयन्तसँग विछोड भएपछि शिल्पाको आफूभन्दा २० वर्ष जेठो केटासँग बिहे हुन्छ । २० वर्ष जेठो मान्छेले रानी जस्तो बनाएर राखे पनि शिल्पाको मन बेचैन हुन्छ र एक्लै बस्नुपर्ने अवस्था हुन्छ । यसरी उपन्यासमा विभिन्न रोचक तानाबाना बुनेर गज्जबको कथा बनाइएको छ ।
जयन्त र शिल्पा नै यस उपन्यासका मुख्य पात्र भए पनि जोडिएर आउने सहायक पात्रहरू अर्चना र हरि हुन्, जो श्रीमान् श्रीमतीका रूपमा राखिएको छ । उनीहरूको चरित्र पनि उपन्यासमा सशक्त रूपमा अवस्थित छ । उपन्यासको मुख्य विषयवस्तु प्रेम भए पनि यसमा देशको राजनीतिक विकृति/विसंगति, सामाजिक परिवेश, घटनाक्रम, सामाजिक यर्थाथता, जात/जातीयता, अन्धविश्वासजस्ता विषयवस्तुले प्राथमिकता पाएका छन् । एउटा कथा प्रस्तुत भइरहँदा अर्को कथाको प्रवेश लेखकले गराउनुभएको छ यसमा । उपन्यासका पात्रहरूको प्रेमका विभिन्न उतार चढावका परिवेशले यसलाई यथार्थपरक बनाएको छ । भाषाशैली निक्कै राम्रो रहेको यो उपन्यासको प्रस्तुति एकदमै लोभलाग्दो छ । जतिसुकै बाधा अडचन आए पनि साचो प्रेम अमर हुँने लेखकले यस कृतिमार्फत बताउन खोज्नुभएको छ ।
‘उर्वरा’ शब्दलाई लाक्षणिक रूपमा बुझ्नुपर्ने हुन्छ । उपन्यासको सुरुवात र अन्त्य एकदमै सान्दर्भिक छ । यो एक आदर्शवादी उपन्यास हो । उपन्यास पठनीय छ र यस कृतिमा पाठकले आख्यानात्मकता प्रचुर मात्रामा पाउँछन् । यसको अर्को महत्पूर्ण पक्ष के हो भने यसले ६० वर्षअघिको र आजको समयलाई जोड्ने काम गरेको छ ।
पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ‘...सनातन कथामा प्रयुक्त साहित्यिक बान्की र कल्पनाशीलताले पोखरेलको मनमा जागृत चेतनासँगसँगै काव्यात्मक रसराग हुर्कियो । प्रारम्भिक कालमा प्राप्त सोही अवसरको आधारशिलामा टेकेर आज उनी नेपाली आख्यान साहित्यको विशाल फाँटमा विस्तारित हुँदै छन् ।’
उपन्यासको एउटा अंशमा पोखरेलले लेख्नुभएको छ, ‘यसपालिको चाड बुबा-आमासँगै विराटनगरमा मनाउनुपर्छ भन्ने विचार आयो जयन्तको मनमा । भाइ हेमन्तलाई दशैँमा बोलाउन अमेरिका फोन गर्यो । हेमन्त बंगाली केटीसँग विवाह गरीवरी एक वर्षअगाडि अमेरिका गएको थियो ।...।’ (पृष्ठ-५०)
नपाली साहित्य फाँटमा ‘उर्वरा’ जस्तो सशक्त कृति लिएर आउनुभएका उपन्यसकार पोखरेलका नुतन कृतिको रस्वादन गर्न पाइराखौ यही गीता कामना ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता