‘व्यथा र विमलता’ विमला पोख्रेलको कवितासङ्ग्रह हो । यो उहाँको छन्दकवितासङ्ग्रह हो । रचनाकारमै सर्वाधिकार भएको यो कवितासङ्ग्रहको प्रकाशक पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवन रहेको छ । उक्त प्रकाशनको यो पुस्तक ७६ प्रकानशनमाला हो । २०७७ साल चैतमा छापिएको यस पुस्तकको यो प्रथम संस्करण हो । पहिलो संस्करणमा यो पुस्तक १००१ प्रति छापिएको बताइएको छ । भूमिका खण्डमा १८ र पाठ्य खण्डमा ८६ गरी यस पुस्तकमा जम्मा १०४ पृष्ठ रहेका छन् ।
यस पुस्तकको मूल्य २५० रुपैयाँ छ । पुस्तक डिएमआई साइजमा छ । यस पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । यसको छपाइ स्तरीय छ तर कतै अशुद्धि भेटिन्छन् । यसमा दीपेन्द्रकुमार जोशी तथा सुमिना जोशीको कम्युटर सेटिङ रहेको छ भने निक जोशीको आवरण रहेको पाइन्छ । आवरण निकै आकर्षक छ । कलात्मक र सुहाउँदो रंग संयोजन रहेको आवरणमा माथि ठूला अक्षरमा ‘व्यथा र विमलता’ लेखिएको छ । बीचमा एकजना नारी, एक पुरुष र एकजना बालकको चित्र छ र तल कवयित्री विमला पोख्रेलको नाम दिइएको छ ।
कवयित्री पोख्रेलको रुचि शार्दुलबिक्रिडित छन्दमै रहेको देखिन्छ । यस सङ्ग्रहका कविताहरूमा राष्ट्र, रायिष्ट्रयता, जागरण, वेदना, वात्सल्य, ममता, चाहना, कामना, व्यथा, संस्कार, विरह, मातृस्मरण, गरिबी, प्रेरणा, पहिचान, एकताको सन्देश, सद्भावना, जन्मभूमि, व्यक्ति प्रशंसा जस्ता विषय र भाव पाइन्छ ।
पृष्ठ आवरणमा फोटोसहित कवयित्रीको समग्र परिचय दिइएको छ । जसमा उहाँको जन्ममिति, जन्मस्थान, मातापिता, शैक्षिक योग्यता, संलग्नता प्रकाशित कृतिहरू तथा उहाँले प्राप्त गर्नुभएका आधा दर्जनभन्दा बढी पुरस्कारहरूको उल्लेख भएको पाइन्छ । यसको तल प्रकाशक संस्थाको लोगोसहित नाम दिइएको छ । भूमिका खण्डमा सुरुमा समर्पण रहेको छ र यहाँ ‘सम्पूर्ण ज्ञात अज्ञात सहयोगी साहित्यप्रेमीहरूप्रति समर्पित’ भनिएको छ । त्यसपछि प्रकाशकीय रहेको छ भने केशवराज आमोदीको ‘व्यथा र विमलताका प्रतिसामान्य दृष्टि प्रक्षेपण’, गोर्खे साइँलोको ‘शुभकामना थोरै शब्द कवि विमला पोख्रेलप्रति’, र कवयित्रीको ‘आफ्नै मनका वाक्यांशहरू’ छन् । त्यसपछि कविताक्रम छ । यसबाट यहाँ ८५ वटा कविता रहेको थाहा हुन्छ । यी सबै छन्दका कविता हुन् ।
कवयित्री छन्द साधनामा सिद्धहस्त देखिनुहुन्छ । यस सङ्ग्रहमा रहेका सबैजसो कविता शार्दुलबिक्रिडित छन्दमा छन् । पञ्चचामर १, मन्दाक्रान्ता एक र शिखरिणी एक बाहेक अरू ८२ वटा कविता शार्दुलबिक्रिडित छन्दमै छन् । यसबाट कवयित्री पोख्रेलको रुचि शार्दुलबिक्रिडित छन्दमै रहेको देखिन्छ । यस सङ्ग्रहका कविताहरूमा राष्ट्र, रायिष्ट्रयता, जागरण, वेदना, वात्सल्य, ममता, चाहना, कामना, व्यथा, संस्कार, विरह, मातृस्मरण, गरिबी, प्रेरणा, पहिचान, एकताको सन्देश, सद्भावना, जन्मभूमि, व्यक्ति प्रशंसा जस्ता विषय र भाव पाइन्छ ।
पुस्तकमा समेटिएका कविता सबै नै एक पृष्ठमा समेटिएका छन् । यी कविता चार श्लोकका १० वटा र पाँच श्लोकका ७५ वटा छन् । उहाँको शीर्षक चयनमा छोटा शीर्षकहरूलाई प्राथमिकता दिइएको पाइन्छ । एक शब्दका ४५, दुई शब्दका ३२, तीन शब्दका चार–चार शब्दका ३ र पाँच शब्दका एकवटा कविताहरू पुस्तकमा छन् । मुक्तलयका कविताहरूको तुलनामा छन्दोबद्ध कविताहरूको लेखनमा साधना बढी आवश्यक पर्छ । यस्तो साधनामा समय दिने कवयित्री पोख्रेललाई धेरै धेरै बधाई तथा सफलताको कामना । यस्तै अन्यान्य पुस्तकका लागि उहाँलाई अग्रीम शुभकामना ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता