कोलम्बो । घरेलु टोली श्रीलंकाले न्युजिल्याण्डविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला एक खेलअगावै आफ्नो पक्षमा पारेको छ । पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न दोस्रो खेलमा डकवर्थ लुइस पद्धति (डिएलएस)का आधारमा श्रीलंका तीन विकेटले विजयी भयो । यससँगै श्रीलंकाले १२ वर्षपछि न्युजिल्याण्डविरुद्ध एकदिवसीय शृंखला जितेको हो । जितसँगै श्रीलंकाले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा श्रीलंका ४५ रनले विजयी भएको थियो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको २१० रनको लक्ष्य श्रीलंकाले ४६ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि कुसल मेन्डिसले १०२ बलमा अविजित ७४ रनको योगदान गर्नुभयो । यसैगरी पथुम निसन्काले २८, महेश तिक्क्षणाले अविजित २७, जानिथ लियान्गेले २२, दुनिथ वेलालागेले १८ र कप्तान चरिथ अस्लंकाले १३ रन बनाउनुभयो । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले चार तथा कप्तान मिचेल स्यान्टनर, ग्लेन फिलिप्स र नाथन स्मिथले समान एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो । मैदान ओसिलो भएका कारण टसमा ढिलाइ हुन पुग्दा खेललाई ४७ ओभरमा झारिएको थियो । न्युजिल्याण्डका लागि मार्क च्याम्पम्यानले ८१ बलमा सर्वाधिक ७६ रनको योगदान गर्नुभयो । यसैगरी मिचेल हेले ४९, विल योङले २६ र ग्लेन फिलिप्सले १५ रन बनाउनुभयो । श्रीलंकाका लागि जेफ्री वान्डरसे र महेश तिक्क्षणाले समान तीन, असिथा फर्नान्डोले दुई तथा दुनिथ वेलालागे र चरिथ अस्लंकाले समान एक विकेट लिनुभयो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता