एजेन्सी । अमेरिकी मेजर लिग सकरअन्तर्गत प्लेअफ खेलमा इन्टर मियामीले एट्लान्टा युनाइटेडलाई २-१ ले हराएको छ । शनिबार बिहान भएको खेलमा इन्टर मियामीलाई जिताउन लुइस स्वारेज र जोर्डी अल्वाले समान एक गोल गर्नुभयो । एटलान्टाका लागि साबा लोब्जानिड्जले एक गोल फर्काउनुभयो । अब दोस्रो लेग नोभेम्बर ३ मा हुनेछ ।
खेलको दोस्रो मिनेटमै स्वारेजको गोलमा मियामीले अग्रता बनायो । डियागो गोमेजले मिलाएको सुन्दर पासमा बक्सभित्रबाट स्वारेजले गोल गर्नुभएको हो । ३९औँ मिनेटमा साबाले गोल गर्दा पहिलो हाफ १-१ को अन्तरमा टुंगियो ।
खेलको ६०औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा अल्वाले गोल गर्नुभयो । मेसीले मिलाएको पासलाई अल्वाले बक्सबाहिरबाट प्रभावशाली गोल गर्नुभएको हो । मियामीले मेजर लिग सकरमा शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो ।






