काठमाडौं । आज (आइतबार)देखि साफ यू-२० च्याम्पियनसिप काठमाडौंमा सुरु हुँदै छ । यसका लागि सहभागी ६ वटै टोलीले तयार रहेको बताएका छन् । शनिबार एन्फा मुख्यालयमा भएको पत्रकार सम्मेलनमा नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयार रहेको बताएका हुन् । प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग संगठन सार्कमा आबद्ध ६ देश सहभागी छन् ।
उद्घाटन खेलमा घरेलु टोली नेपालले आज (आइतबार) श्रीलंकासँग खेल्नेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल, साबिक विजेता भारत र साबिक उपविजेता बंगलादेश प्रतियोगिताको उपाधि जित्न मुख्य दाबेदारका रूपमा छन् ।
भुटानले पनि पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ । यस्तै माल्दिभ्स र श्रीलंका पनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् ।
घरेलु टोली नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसपटक राम्रो तयारी भएकाले उपाधि जित्ने लक्ष्य रहेको बताउनुभएको छ । यो पटक नेपाली टिममा ए डिभिजन लिग र नेपाल सुपर लिगबाट खेलिसकेका खेलाडीहरू भएकाले उनीहरू अनुभवी रहेका श्रेष्ठले बताउनुभयो ।
नेपाली टिममा गत वर्ष घरेलु मैदानमै साफ यू–१९ खेलेका अधिकांश खेलाडी छन् । गत वर्ष सेमिफाइनलमा भारतसँग पराजित भएपछि उपाधि जित्न नसकेको नेपालले यसपटक त्यो गल्तीलाई सच्याएर राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।
यस्तै नेपालका कप्तान कुशल देउवाले पनि टिम पूर्ण रूपमा तयार रहेको र लक्ष्य उपाधि जित्ने रहेको बताउनुभयो । साबिक विजेता भारतका प्रशिक्षक रञ्जन चौधरीले पनि उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो ।
बंगलादेशका प्रशिक्षक एकेएम मारूफुल हकले गत वर्ष फाइनल पुगेकाले यसपटक पनि फाइनल पुग्नका लागि दबाब रहेको बताउनुभयो । उहाँँले यसपटक टिममा अनुभवी खेलाडीहरू पनि रहेकाले फाइनल खेल्ने लक्ष्य रहेको बताउनुभयो । बंगलादेशका कप्तान मृहदी हसन स्राबोनले पनि बंगलादेशको लक्ष्य फाइनल पुग्ने रहेको बताउनुभयो ।
यस्तै माल्दिभ्स र श्रीलंकाका प्रशिक्षक र कप्तानले पनि फाइनल पुग्ने लक्ष्य रहेको बताउनुभयो । भुटानका कप्तान पेमा जांगपोले यसपटक भुटानको टिम सहभागिता जनाउनमात्र नआएको भन्दै इतिहास बनाउन चाहेको दाबी गर्नुभयो ।
साफका खेल दशरथ रंगशालामा नहुने
साफ यू-२० च्याम्पियनसिपका समूह चरणका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ । यसअघि यो प्रतियोगिता दशरथ रंगशालामा हुने तय थियो । तर, मैदान हिलाम्मे भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको दुई दिनअघि भेन्यु परिवर्तन भएको जानकारी दिएको हो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पठाएको म्याच कमिस्नर अब्दुल हमिद अब्दुल गफरले शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान निरीक्षण गर्नुभएको थियो । माल्दिभ्सका गफरलाई साफले बिहीबार राती मैदान निरीक्षण गर्न नेपाल पठाएको हो । उहाँले मैदानको गुणस्तर राम्रो नभएको र समूह चरणका खेल दशरथ रंगशालामा खेलाउन नमिल्ने रिपोर्ट साफलाई दिनुभएको थियो । साफले उक्त रिपोर्ट अध्ययन गरेर समूह चरणका खेल एन्फा कम्प्लेक्समा सार्न अनुमति दिएको हो । अब खेल एन्फा कम्प्लेक्सको टर्फमा हुनेछ ।
नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंका रहेको समूह ‘ए’ मा बंगलादेश पनि छ । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन् । दशरथ रंगशालामा मंगलबार शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच एएफसी च्यालेन्ज लिगको प्ले अफ भएको थियो । पारो एफसी २-१ को खेलमा मैदानको खराब अवस्थाका कारण एन्फा र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आलोचना भएको थियो ।
एन्फा कम्प्लेक्समा हुने खेलका लागि एन्फाले टिकट दर तीन सय रुपैयाँ रहेको जनाएको छ । नेपालसहित प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बंगलादेश र श्रीलंका रहेका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि एन्फाले शनिबार नै २३ सदस्यीय युवा टोलीको घोषणा गरिसकेको छ । नेपालले श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts