बार्सिलोना । स्पेनका युवा फुटबलर लामिन यामलका बुबा अस्पताल भर्ना हुनुभएको छ । यामलका बुबालाई बार्सिलोनाको पार्किङस्थल बाहिर अपराधीहरूले छुरा प्रहार गरेका थिए । पटकपटक कुटपिटका कारण उहाँ गम्भीर घाइते हुनुभउको थियो । उहाँको उपचार भइरहेको छ ।
इएसपीएनका अनुसार यामलका बुबा मोनिर नसरौईलाई गृहनगर मातारोमा हमला गरिएको थियो । बुधबार राति करिब ९ः१० बजे उहाँलाई अपहरणकारीले छुरा प्रहार गरेको स्थानीय प्रहरीले जनाएको छ । तर, आक्रमण घातक नभएको बताइएको छ । यमलका बुबाले बिहीबार सामाजिक सञ्जाल पोस्टमार्फत आफू राम्रो भएको बताउनुभएको छ । बुधबार नै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । थप पक्राउ पर्नसक्ने प्रहरीले जनाएको छ । तर, अभियुक्त भने खुलाइएको छैन ।
१७ वर्षीय यामलले जुलाईमा स्पेनलाई युरो कप च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । फ्रान्सविरुद्धको सेमिफाइनलमा पनि उहाँले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । यामल बार्सिलोनाबाट क्लब फुटबल खेल्नुहुन्छ । बुबामाथि आक्रमण हुँदा उहाँ आफ्नो टोलीसँग अभ्यास गरिरहनुभएको थियो । उहाँले ला लिगामा शनिबार भ्यालेन्सियासँग खेल्ने कार्यक्रम छ ।
यस वर्षको जुन र जुलाईमा भएको युरो कप स्पेनले जितेको थियो । टोलीलाई च्याम्पियन बनाउन युवा यमालको ठूलो भूमिका थियो । जर्मनीमा भएको प्रतियोगिताका सबै खेल खेलेका यमलले फ्रान्सविरुद्ध महत्वपूर्ण गोल गर्दै टोलीलाई फाइनलमा पुर्याउनुभएको थियो । इंग्ल्याण्डविरुद्धको फाइनलमा यमलको असिस्टमा निको विलियम्सले गोल गर्नुभएको थियो । यंग प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड यमलले पाउनुभएको थियो । एजेन्सी ।






