एजेन्सी । पाकिस्तान र बंगलादेशबीच हुने दोस्रो टेष्ट दर्शकविना खेलाइने भएको छ । दोस्रो र अन्तिम टेष्ट अगस्ट ३० देखि कराँचीमा प्रस्तावित छ । कराँचीको नेशनल स्टेडियममा निर्माण कार्य भइरहेकाले पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी)ले दर्शकविना नै खेलाउने निर्णय गरेको हो ।
कराँचीसँगै लाहोरको गद्दाफी स्टेडियममा पनि पुनर्निर्माणको काम भइरहेको छ । पाकिस्तानले यस सिजन घरेलु मैदानमा सातवटा टेष्ट खेल खेल्नुपर्नेछ र ती सबै तीन शहरमा हुनेछन् । लाहोर र कराँचीबाहेक तेस्रो सहर मुल्तान हो । जसले अक्टोबर ७ बाट इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजको पहिलो खेल आयोजना गर्नेछ । अक्टोबर १५ देखि इंग्ल्याण्डविरुद्ध हुने टेष्ट पनि कराँचीमा हुनेछ, जसमा दर्शकको पूर्ण उपस्थिति रहने अपेक्षा गरिएको छ ।






