पेरिस । विश्व खेलकुदको महाकुम्भ मेला पेरिस ओलम्पिक २०२४ सकिएको छ । आइतबार राती आयोजित विशेष समारोहबीच पेरिस ओलम्पिकको समापन गरिएको हो । पाँचवटा ग्रामी अवार्ड विजेता अमेरिकाकी गाब्रिएला सार्मिएन्टो विल्सनले समारोहमा प्रस्तुति दिनुभयो । उहाँले ओस्कार र एमी अवार्ड पनि जित्नुभएको छ ।
वल्सनले ओलम्पिक झण्डा हस्तान्तरणका क्रममा स्टेड डे फ्रान्समा अमेरिकी राष्ट्रिय गान गाउनुभयो । अमेरिकी शहर लस एन्जलसले सन् २०२८ को ओलम्पिक खेलकुद आयोजना गर्ने भएको छ । पेरिसको स्टेड डे हल्ले स्टेडियममा समापन समारोह गरिएको हो । कार्यक्रममा एक सयभन्दा बढी कलाकार, एक्रोब्याट, नृत्य र सर्कस कलाकारको प्रस्तुति रहेको थियो ।
समापन समारोहको परम्पराअनुसार सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकाले आयोजना गर्ने भएकाले ओलम्पिकको झण्डा अमेरिकालाई हस्तान्तरण गरिएको छ । ओलम्पिकमा सहभागिता जनाएको नेपाल भने पदकविहीन रहृयो । छिमेकी मुलुक भारत भने ओलम्पिकमा स्वर्णविहीन रहृयो । स्वर्ण नजिते पनि भारतले ६ पदक भने जितेको छ । भारतीय टोली ७१औँ स्थानमा रहेर घर फर्किने भएको छ ।
म्याराथनमा सन्तोषी ७९ औँ स्थानमा
नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ अन्तर्गत म्याराथनमा ७९औँ स्थानमा रहनुभएको छ । आइतबार पेरिस ओलम्पिकको अन्तिम दिन म्याराथनमा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पार गर्दै ७९औँ स्थानमा रहनुभएको हो । कुल ९२ जना प्रतिस्पर्धी रहेको म्याराथनमा नेदरल्याण्ड्सकी सिफन हसनले स्वर्ण पदक जित्नुभएको थियो ।
उहाँले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै स्वर्ण पदक चुम्नुभएको हो । हसनले पेरिस ओलम्पिकमा पाँच हजार, १० हजार र म्याराथनका तीन विधामा स्पर्धा गर्नुभएको थियो । म्याराथनमा इथियोपियाका टिग्स्ट हसिफाले रजत र केन्याकी हेलेन ओविरीले कांस्य पदक आफ्नो पोल्टामा पार्नुभयो । म्याराथनको तयारीका लागि सन्तोषी साउन १५ गते पेरिस पुग्नुभएको थियो । उहाँले १० दिन पेरिसमा नै अभ्यास गर्नुभएको थियो ।
ओलम्पिकमा पाँच खेलका ६ खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसमा पौडीका एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । शाहबाहेक टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिनुभएको थियो ।






