काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङको अवधारणाअनुरूप अन्य मुलकुमा झैँ नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको सुरुआत गरिएको हो ।
विभिन्न जातजाति र भौगोलिक अवस्थाअनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेरसमूहका युवाहरूको शारीरिक बनोटको पहिचान गरी उनीहरूलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको हो ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको विभिन्न जिल्लामा अनुसन्धान गरिएको थियो । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेल विज्ञ कुमारी हिरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानियसंग समन्वय गरी अनुसन्धान गरेको हो ।
सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बाग्लुङ, मधेशको धनुषा र सिरहा, कोशीको सुनसरी र सोलुखुम्बु तथा बागमतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको थियो । अनुसन्धानमा थारू, मगर, ब्रहमण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेर समूहका ८५० बालबालिका समावेश थिए ।
सोही टोलीले सो अनुसन्धानका क्रममा सातै प्रदेशका विभिन्न जिल्लामा परम्परागत खेलको अनुसन्धान पनि गरेको थियो । कुन स्थानमा कुन/कुन परम्परागत खेल खेलिँदै आएको छ भन्ने तथ्यांक संकलन गरी सो क्षेत्रमा उक्त खेलको विकास र विस्तार गर्दै खेलको जगेर्ना गर्ने उद्देश्यले परम्परागत खेलको पनि अनुसन्धान गरिएको निर्देशक तिमल्सिनाले बताउनुभयो । यसका लागि २५ देखि ८५ वर्ष उमेरसमूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरूको समूहबाट परम्परागत खेलका विषयमा जानकारी लिइएको थियो ।
टोलीले राखेपका सदस्य-सचिव टंकलाल घिसिङलाई बिहीबार प्रतिवेदन बुझाएको छ । सो अवसरमा सदस्य-सचिव घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै राखेपले कार्य योजना तयार गरी अगाडि बढ्ने बताउनुभयो । ‘नेपाली खेलकुदमा यो एउटा विल्कुलै नयाँ अभ्यास हो । हाम्रो पहिलो प्रयासले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने विश्वास छ । आशा छ क्षमता भएर पनि कसैको नजरमा नपरेका क्षमतावान खेलाडी अगाडि आउनेछन् ।’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘आगामी दिनमा अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउदै लैजाने छौँ ।’
सदस्य-सचिव घिसिङले नेपालमा खेलिने परम्परागत खेलको पनि तथ्यांक संकलन गर्नु महत्वपूर्ण भएको बताउँदै यसले नेपालमा खेलिने मौलिक खेलहरू के के हुन्, कहाँ कहाँ खेलिन्छन् र कुन अवस्थामा छन् भन्ने जान्न र जगेर्ना गर्न जरुरी भएको बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा