काठमाडौं । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले आगामी जुलाई-अगष्टमा फ्रान्समा हुने पेरिस ओलम्पिक खेल्ने हुनुभएको छ । उहाँ वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकका लागि छनोट हुनुभएको इन्टरनेसनल जुडो फेडेरेसनले जनाएको छ । २५ वर्षीया मनिताले महिला ५७ केजीमुनि प्रतिस्पर्धा गर्नुहुनेछ ।
बन्दी सहायता नियोग (पाम) को उत्पादन मनिताले सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग अन्तरविद्यालय जुडो प्रतियोगितामार्फत् डेब्यु गर्नुभएको थियो । मनिता पेरिस ओलम्पिक खेल्ने पक्का भएको सातौं नेपाली खेलाडी हुनुहुन्छ ।
यसअघि एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्डनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ तथा पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले पेरिस ओलम्पिकमा स्थान सुरक्षित गरिसक्नुभएको छ ।
यीमध्ये स्यान्टुले छनोट चरण पार गर्दा अन्यले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिक खेल्ने अवसर प्राप्त गर्नुभएको हो ।






