पर्यटकीय क्षेत्र सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वधार निर्माण गर्न थालेका छन् । गाउँपालिकाले ६ वर्षदेखिनै सहीद पार्क, शौचालय, खानेपानी व्यवस्थापन, पिकनिक स्पटलगायतका संरचनाहरु बनाउँदै आएको थियो भने प्रदेश सरकारले यस वर्ष १० लाख रुपैयाँ विनियोजन गरेर पर्यटकका लागि सत्तल निर्माण गर्न थालेको छ । समुन्द्री सतहदेखि दुई हजार ६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्य भरिपूर्ण छ । गाउँपालिकाले संरचना निर्माणसँग प्रचारप्रसारलाई जोड दिएपछि आन्तरिक पर्यटकसमेत बढ्न थालेका छन् ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायले विनियोजन गरेको बजेट उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत कार्यान्वयमा आएको छ । दश लाख रुपैयाँले सत्तल बनाउनका लागि उपभोक्ता समितिसँग सम्झौता भएर काम अगाडि बढेको उद्योग तथा पर्यटन कार्यालय बागलुङका नासु नारायण रिजालले जानकारी दिनुभयो । आगामी बैशाखसम्म सक्ने गरि काम भइरहेको उहाँको भनाइ छ । रिजालले सोलेडाँडामा पुग्ने पर्यटकलाई विश्रामका लागि सत्तल निर्माण गर्न थालिएको बताउनुभयो ।

उहाँले भन्नुभयो - “पालिकामै पुगेर पुस महिना महिनाको २५ गते सम्झौता गरेका थियौँ, अहिले धमाधम काम भइरहेको छ, निर्माण समितिले बैशाखमा सक्ने गरि काम गरेको छ, सत्तल मौलिकता बोकेको हुने छ, स्थानीय काठ, ढुङ्गाको प्रयोग गरेर निर्माण हुने छ, जसले पानी, झरी पर्दा, हावाहुरी चल्दा बाहिरबाट घुम्न आएका पर्यटकलाई ओत लाग्नका लागि सहज हुने छ, अहिले सामान्य छाप्राहरु छन्, त्यहीमा पर्यटकहरुले विश्राम गर्दै आएका रहेछन् ।”

ADVERTISEMENT

हिमशृखंला र सूर्योदय/सूर्यास्त अवलोकनका लागि उपयुक्त मानिने सोलेडाँडा बाह्रै महिना पर्यटकको रोजाईमा पर्ने गरेको छ । वनभोज, रात्री ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन् । यहाँबाट देखिने हिमश्रृङ्खला र दर्जनौ प्राकृतिक मनोरम दृश्यहरुले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यस डाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जिवजन्तुको चिरबिर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ । गाउँपालिकाले अघिल्लो वर्ष सहीद पार्क निर्माण गरेर सालिकहरु राखेको छ ।

नेपालका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्र द्वन्द्वका बेला तमानोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका स्थानीय दुर्गाबहादुर बुढा, प्रेम घर्ती मगर, ओमकार बुढा र गंगबहादुर पुनको शालिक राखेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । यस वर्ष गाउँपालिकाले पनि पाँच लाख रुपैयाँ विनियोजन गरेको उहाँको भनाई छ । उक्त रकमले सहिद पार्क भित्र पदमार्ग निर्माण गर्ने बताउनुभयो । टायल लगाएर व्यवस्थित पदमार्ग निर्माण गरेपछि बाहिरबाट आउने पर्यटकले सहीद पार्कमा सहज रुपमा घुम्न सक्ने अध्यक्ष बुढा मगरको भनाइ छ । गाउँपालिकाले हालसम्म करिब ३० लाख बढीको संरचना निर्माण गरेको उहाँले बताउनुभयो ।

“यो ठाउँ वर्षौँदेखि चर्चित छ, तर हामी निर्वाचित भएर आउँदासम्म पर्यटन संरचना निर्माण भएको थिएन, हामीहरुले सुरुको वर्षदेखि निरन्तर काम गर्दै आएका छौँ, पूर्वधार निर्माण भएपछि पर्यटक पनि बढेको पाएका छौँ, पहिले खुल्ला डाँडो मात्रै थियो, अन्य संरचना केही थिएन” अध्यक्ष बुढा मगरले भन्नुभयो - “अहिले कम्तीमा पर्यटकले पिउने पानी, पाएका छन्, शौचालय, विश्राम गर्ने ठाउँ बनेको छ भने, सहीदहरुको सम्मानमा पार्क निर्माण गरेर सालिक पनि राखेका छौँ, अन्य पूर्वधार विस्तारै थप्दै जाने छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज