बागलुङ । बागलुङको तमानखोला गाउँपालिका-१ बोङ्गादोभानमा मोटरेवल पुल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुलको उद्घाटन गर्नु भएको हो । वि.सं. २०७७ सालमा निर्माण सुरु भएको पुल अघिल्लो महिना मात्रै निर्माण सम्पन्न भएको थियो ।
वि.सं. २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्ने गरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता गरे पनि समयमै काम सम्पन्न भएको थिएन । पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले दूर दराजमा विस्तारै विकासले गति लिन थालेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले विकास नभएका ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ ।
सरकारले सीमित स्रोत र साधनकाबीच नागरिकका आवश्यकतालाई पूरा गर्नु पर्ने बाध्यता रहेको भन्दै क्रमिक रुपमा विकास हुँदै जाने बताउनुभयो । सडक विकासको मुख्य आधार रहेको हुँदा बस्ती बस्तीमा सडक पुर्याउने काम भएको उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले स्थानीय तहसँग सहकार्य गरेर जनताको समस्या समाधान गर्न थालेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो - “अहिले सबै तिर विकासले गति लिन थालेको छ, सबै तिर एकै पटक विकास गर्न सम्भव हुँदैन, क्रमिक रुपमा विकास हुँदै जाने हो, पछिल्लो एक दशकमा धेरै विकास भएको छ, सडकले नागरिकको जनजीवनमा समेत परिवर्तन ल्याएको छ ।”
बोङ्गादोभानमा पुल बनेपछि साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने भएको छ । पुलको रु दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको हो । यहाँ पुल बनेपछि तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि नर्जाखानी, तमान, स्याउला, खुङ्खानी, थास्पुरी लगाएका गाउँमा पुग्न सहज भएको छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले यो पुलले यहाँका हजारौँ नागरिकलाई यातायात र सामान ढुवानीमा सहज बनाएको बताउनुभयो । बर्खाको समय करिब ५ महिना ठप्प हुने यो पुल संचालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिक बजारसँग जोडिएको उहाँको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता