काठमाडौं । जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक ललितपुरका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध पदको दुरुपयोग गरी चार करोड ६७ लाख ३८ हजार ७८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ जेठ १७ देखि २०७९ मङ्सिर २८ गतेसम्मको जाँच अवधिमा समग्र आय र व्ययको विश्लेषण गर्दा सो रकम भ्रष्टाचार आरोप लागेको छ ।
कार्कीको पारिश्रमिक आय, श्रीमतीको आय, भत्ता, घर बहाल, बिमा, जग्गा बिक्री बैंक ब्याज सबै गरी वैध आय एक करोड आठ लाख ४८ हजार ५९० रुपियाँ देखिएको र सो अवधिमा निजको खर्च तथा लगानी, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, सवारी साधन खरिद, विभिन्न कम्पनीहरूको शेयर खरिद, घर बहाल गरी पाँच करोड ७५ लाख ८७ हजार ३७० रुपियाँ व्यय देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
सिर्जित आयबाट व्यय घटाउँदा चार करोड ६७ लाख ३८ हजार ७८० बिगो रकमसहित भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना जफतको माग दाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।






