नयाँदिल्ली । भारत र अस्ट्रेलियाबीचको बोर्डर-गावस्कर ट्रफीको अन्तिम टेस्टमा कप्तान रोहित शर्मा खेलबाट बाहिर हुनुहुन्छ । उहाँको स्थानमा फास्ट बलर जसप्रित बुमराहलाई टोलीको नेतृत्व दिइएको छ । खेल सुरु हुनुअघि बुमराहले भन्नुभएको थियो, ‘हाम्रो कप्तान (रोहित शर्मा)ले टोलीको उत्कृष्ट नेतृत्व गर्नुभएको छ र उहाँले यो खेलमा आराम गर्ने निर्णय गर्नुभएको छ ।’ तर, पत्रकार सम्मेलनमा टिम इण्डियाका मुख्य प्रशिक्षक गौतम गम्भीरले रोहितबारे गरेको टिप्पणीपछि कप्तानलाई पाँचौँ टेस्टबाट बाहिर राख्न सक्ने अड्कलबाजी बढेको थियो । अब चर्चा छ कि रोहित आफैंले यो खेलबाट बाहिरिने निर्णय गर्नुभएको हो वा उहाँलाई यो सिरिजमा खराब प्रदर्शनका कारण बाहिर राखिएको हो ?
यसबीच रोहितले टेस्ट म्याचलाई अलबिदा भन्न सक्ने र उहाँले आफ्नो अन्तिम टेस्ट म्याच मेलवर्नमा खेलेको पनि चर्चा छ । वास्तवमा भारतीय क्रिकेट टोली बोर्डर–गावस्कर ट्रफीको पाँच टेस्टको शृंखलामा एक-दुईले पछि छ । चौथो टेस्टमा पराजय र शृंखला एक-दुईले पछि परेपछि भारतीय टोलीको ड्रेसिङ रूमबाट विवादका खबर मिडियामा आउन थालेका छन् । रोहितलाई हटाइयो वा आफैंले यो म्याच नखेल्ने निर्णय गर्नुभयो भन्नेमा फरक-फरक मत देख्न सकिन्छ । रोहित आफ्नो फर्म फर्काउन संघर्ष गरिरहनुभएको छ । पछिल्लो नौ टेस्ट खेलमा रोहितले १०.९३ को औसतमा रन बनाउनुभएको छ । एजेन्सी ।






