
काठमाडौं । सन् २०२४ क्रिकेट फ्यानका लागि निकै यादगार रहृयो । गत वर्ष विश्व क्रिकेटका केही दिग्गज खेलाडी बिदा भए । वर्षको अन्त्यमा भारतीय क्रिकेट टोलीका दिग्गज आर अश्विनले टेष्ट क्रिकेटलाई अलबिदा भन्नुभयो ।
अश्विनबाहेक भारतका शिखर धवन र दिनेश कार्तिकले क्रिकेटलाई अलबिदा गर्नुभयो । केदार जाधव, ऋद्धिमान साहा, वरुण आरोन, सिद्धार्थ कौल, सौरभ तिवारी फेरि मैदानमा ब्याट र बलको साथ देखिने छैनन् । टेष्ट क्रिकेटमा सात सय विकेट लिएर इतिहास रच्ने जेम्स एन्डरसनको बलले पनि नयाँ वर्षमा ब्याट्सम्यानलाई समस्यामा पार्ने छैन । नील वाग्नरको छोटो पिच बलले पनि नयाँ वर्षमा ब्याट्सम्यानलाई डराउने छैन । डेभिड वार्नरको तुफानी शैली र मोइन अलीको लामो छक्का पनि अब मैदानमा देखिने छैन ।
भारतका लागि १०६ टेष्टमा ब्याट र बलबाट अचम्मको प्रदर्शन गर्ने अश्विनले बोर्डर-गावस्कर सिरिजको तेस्रो टेष्टपछि अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा गर्नुभएको थियो । करिब १५ वर्षको आफ्नो करियरमा अश्विनले क्रिकेटका सबै फम्र्याटमा टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निभाउनुभयो । लामो अवधिमा अश्विनले सबै फम्र्याटमा ७६५ विकेट लिनुभयो । टेष्टमा कुल १०६ खेलमा ५३७ विकेट, ११६ एकदिवसीय खेलमा १५६ विकेट र ६५ टी-२० खेलमा ७२ विकेट लिनुभयो । टेष्ट क्रिकेटमा २६ को औसतमा ३,५०३ रन, एकदिवसीयमा १६ को औसतमा ७०७ रन र टी-२० खेलमा २६ को औसतमा १८४ रन पनि बनाउनुभयो ।
शिखर धवनले जुलाई २०२४ मा सबै फम्र्याटबाट सन्न्यासको घोषणा गर्नुभएको थियो । धवनले सन् २०१० मा नै डेब्यु गर्नुभएको थियो । धवनको अदभुत ब्याटिङकै कारण टीम इण्डिया सन् २०१३ मा इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफी जित्न सफल भएको थियो । धवनले भारतका लागि १६७ एकदिवसीय, ३४ टेष्ट र ६८ टी-२० खेल खेलेर १० हजारभन्दा बढी रन बनाउनुभएको छ ।
दिनेश कार्तिकलाई सम्भवतः अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रतिभा अनुसार प्रदर्शन गर्न नसक्ने क्रिकेटरको रूपमा सम्झिनेछ । उहाँले धेरैपटक टोलीमा आउने र बाहिर जाने गर्नुभयो । कार्तिकले २६ टेष्टमात्र खेल्नुभयो । कार्तिकले ९४ ओडीआई र ६० टी-२० खेल्ने मौका पाउनुभयो । कहिले विकेटकिपर, कहिले ओपनर, कहिले मिडल अर्डर ब्याट्सम्यान र कहिले फिनिशरको रूपमा उहाँ दखिनुभयो । ब्याटभन्दा बलिङ एक्सनले आफ्नो छाप बढी बनाउनु भएका केदार जाधवले पनि यो वर्ष क्रिकेटलाई अलबिदा भन्नुभयो । ऋद्धिमान साहा भारतीय क्रिकेटको इतिहासमा उत्कृष्ट विकेटकिपर हो । उहाँले टेष्ट क्रिकेटमा ४० खेलमा २९ को औसतमा एक हजार ३५३ रन बनाउनुभयो ।
डेभिड वार्नर कुनै पनि प्रथम श्रेणी क्रिकेटको अनुभव बिनै टेष्ट क्रिकेटमा डेब्यु गर्नुभएको थियो । तर, एकदिवसीय र टी-२० मा पनि लगभग १५ वर्ष सफलता हासिल गर्नुभयो । वार्नरले अष्ट्रेलियालाई २०२१ मा टी-२० विश्वकप र २०२३ मा एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले कुल ११२ टेष्टमा ४५ को औसतमा आठ हजार ७८६ रन, १६१ ओडीआईमा ४५ को औसतमा ६ हजार ९३२ रन र कूल ११० टी-२० खेलमा ३३ को औसतमा तीन हजार २७७ रन बनाउनुभएको छ ।
फाष्ट बलर जेम्स एन्डरसनले टेष्ट क्रिकेटमा ७०० विकेट लिने विश्वकै पहिलो हो । एन्डरसनअघि दुई स्पिनर मुथैया मुरलीधरन र शेन वार्नले मात्र यो उपलब्धि हासिल गर्न सक्नुभएको थियो । कुल १८८ टेष्टमा उहाँले ७०४ विकेट, १९४ एकदिवसीयमा २६९ विकेट लिए र १९ टी-२० खेलमा १८ विकेट लिनुभयो ।
मोइन अलीको स्पिन अद्भूत थियो, उहाँले ब्याट र फिल्डिङबाट कहिल्यै निराश बनाउनुभएन । अलीसँग जहिले पनि टोलीको आवश्यकता अनुसार आफूलाई अनुकूलन गर्ने क्षमता थियो । उहाँले आफ्नो करियरमा कुल ६८ टेष्ट खेलमा २८ को औसतमा ३०९४ रन बनाउनुभयो । १३८ ओडीआई खेलमा २४ को औसतमा २३५५ रन र ९२ टी-२० खेलमा २१ को औसतमा १२२९ रन बनाउनुभयो । उहाँले टेष्टमा कुल २०४ विकेट, एकदिवसीयमा १११ र टी-२० मा ५१ विकेट लिनुभयो । टेष्ट, एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने विश्वका थोरै खेलाडीमा डेभिड मलानको नाम समावेश छ । टेष्ट करियरमा कुल २२ खेलमा १०७४ रन, ३० एकदिवसीयमा ५६ को औसतमा १४५० रन बनाउनुभयो ।
६२ टी-२० खेलमा उहाँले १८९२ रन बनाउनुभयो । न्युजिल्याण्डका निल वाग्नर अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा वैकल्पिक फिल्डरको रूपमा मैदानमा उत्रिनुभएको थियो । वाग्नर २५० भन्दा बढी टेष्ट विकेट लिने न्युजिल्याण्डका पाँच बलरमध्ये एक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच