एजेन्सी । कार दुर्घटनामा गम्भीर घाइते हुनुभएका वेस्ट हृयाम युनाइटेडका फरवार्ड मिकेल एन्टोनियो तीन सातापछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । तीव्र गतिमा रहेको एन्टोनियोको कार रुखमा ठोक्किन पुगेको थियो । कारभित्र फस्नुभएका एन्टोनियोलाई सेन्ट्रल लण्डन अस्पतालमा लगिएको थियो ।
अस्पताल पुगेलगत्तै उहाँको भाँच्चिएको खुट्टाको शल्यक्रिया गरिएको थियो । जमैकन खेलाडी एन्टोनियो २०१५ यता वेस्ट हृयाममा आबद्ध हुनुहुन्छ । ३४ वर्षीय एन्टोनियो क्लब इतिहासकै अहिलेसम्मका उच्च गोलकर्ता हुनुहुन्छ । एन्टोनियो यो वर्ष मैदानमा देखिनुहुने छैन ।
यसैबीच, अस्ट्रेलियाका प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले क्रिकेटर मिचेल स्टार्क भारतविरुद्धको निर्णायक पाँचौँ टेस्टका लागि फिट हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । मेलबर्नमा जारी चौथो टेस्टको पाँचौँ दिनको खेलमा भारतविरुद्ध घरेलु टोली अस्ट्रेलियाले १८४ रनको सानदार जित निकालेको थियो । योसँगै पाँच खेलको शृंखलामा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ । अब यी दुई टोलीले अन्तिम टेस्ट शुक्रबारदेखि सिड्नीमा खेल्नेछन् ।
अस्ट्रेलियाले नयाँ वर्षको टेस्ट जितेमा या बराबरी खेलेमा सन् २०१४–१५ पछि पहिलोपटक बोर्डर-गावस्कर ट्रफी पुनः प्राप्त गर्नेछ । यो जितले दक्षिण अफ्रिकाविरुद्ध जुनमा लड्र्समा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि स्थान पक्का गर्नेछ । बायाँ हाते बलर स्टार्कले मेलबर्नमा चौथो टेस्टमा ४१ ओभर बलिङ गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता