लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भएका छन् । मंगलबार बिहान सम्पन्न खेलमा चेल्सी इपस्विच टाउन र युनाइटेड न्युक्यासलसँग पराजित भएका हुन् । दुवै टोली समान २-० गोलले पराजित भए । लियाम डेलापको उत्कृष्ट प्रदर्शनपछि इपस्विचले घरेलु मैदानमा सिजनको पहिलो जित दर्ता गरेको हो ।
खेलको १२औँ मिनेटमा लियाम डेलापको पेनाल्टी गोलमा इपस्विचले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५३औँ मिनेटमा डेलापको पासमा चेल्सीका पूर्वविंगर ओमारी हुट्चिन्सले इपस्विचको अग्रता दोब्बर पार्नुभयो । जुन जितका लागि पर्याप्त बन्यो । चेल्सी १९ खेलमा ३५ अंकका साथ तालिकाको चौथो स्थानमा छ । समान खेलमा १५ अंकका साथ इपस्विच टाउन तालिकाको ११औँ स्थानमा रहेको छ । इपस्विच रेलिगेसन क्षेत्रमा नै छ । इपस्विचसँगको हारले चेल्सीलाई भने ठूलो धक्का लागेको छ ।
यसैगरी म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको छ । म्यानचेस्टर युनाइटेडका लागि यो ६० वर्षयताकै खराब नतिजा आएको हो । न्युक्यासलको कमान्डिङ प्रदर्शनले फेब्रुअरी १९७९ पछि पहिलोपटक युनाइटेडले लगातार तीन घरेलु लिग खेल गुमाएको छ । सन् १९६२ पछि युनाइटेडले एकै महिनामा पाँचवटा लिग खेलमा हार बेहोरेको यो पहिलोपटक हो ।
न्युक्यासलले भने ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सन् १९७२ पछि दोस्रोपटक हराएको हो । न्युक्यासलले प्रिमियर लिगमा लगातार चार खेलमा जित निकालेको छ । सन् १९६२-६३ को सिजनपछि युनाइटेडले घरेलु मैदानमा भएका लिग खेलका कुनै पनि प्रतियोगितामा लगातार तीन खेलमा हार बेहोरेको थिएन ।
खेलको चौथो मिनेटमा नै एलेक्जेन्डर इसाकको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो । १९औँ मिनेटमा जोएलिन्टले दोस्रो गोल थपेपछि चेल्सीले अग्रता दोब्बर पारेको थियो । जुन जितका लागि पर्याप्त बन्यो । जितसँगै न्युक्यासल अंक तालिकामा पाचौँ स्थानमा उक्लेको छ । १९ खेलमा नौ खेलमा जित, समान पाँच खेलमा बराबरी र हार भोगेको न्युक्यासलको ३२ अंक छ । पराजित युनाइटेड भने २२ अंकमा चौधौँ स्थानमा छ । ६ खेलमा जित, चार खेलमा बराबरी गरेको युनाइटेडले नौ खेलमा हार भोगेको छ । युनाइटेड रेलिगेसन जोनबाट सात अंकले मात्र अघि छ ।
लिगकै अर्को खेलमा एस्टन भिल्ला र ब्राइटनले भने दुई-दुई गोलको बराबरी खेले । समान १९ खेलमा २९ अंकका साथ एस्टन भिल्ला नवौँ स्थानमा रहँदा २७ अंक रहेको ब्राइटन १०औँ स्थानमा छ । प्रिमियर लिगमा १८ खेल खेलेको लिभरपुल ४५ अंकका साथ शीर्ष स्थानमा छ । एजेन्सी ।






