बार्सिलोना । बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थान गुमाएको छ । शनिबार राती एट्लेटिको मड्रिडसँग २-१ गोल अन्तरले पराजित भएसँगै बार्सिलोनाले ला लिगाको शीर्ष स्थान गुमाएको हो । घरेलु मैदानमा लगातार दुई खेलमा लेगानेस र लास पाल्माससँग हार बेहोरिसकेको बार्सिलोना (१८ खेलमा ३८ अंक) एट्लेटिकोभन्दा तीन अंकले पछि परेको छ । बार्सिलोनाले पछिल्ला खेलमा खराब प्रदर्शन गर्दै सम्भावित २१ मध्ये मात्र पाँच अंक हासिल गरेको छ ।
बार्सिलोनाले १८ वर्षपछि घरेलु मैदानमा एट्लेटिकोसँग पहिलो हार बेहोरेको हो । पहिलो हाफमा बार्सिलोनाले राम्रो प्रदर्शन गरेको थियो । पेड्रीले आधा घण्टामा गाभीको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, ब्रेकपछि बार्सिलोनाले आफ्नो अग्रता बढाउन सकेन ।
६०औँ मिनेटमा मार्क कासाडोले डिबक्सको किनारामा गरेको खराब क्लियरेन्सको फाइदा उठाउँदै डि पाउलले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउनुभयो । वैकल्पिक खेलाडी सोर्लोथले इन्जुरी समयको ६ मिनेटपछि नाहुएल मोलिनाको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाउनुभयो ।
तर, प्रशिक्षक फ्लिकले आफ्नो टोलीको प्रदर्शनप्रति सकारात्मक प्रतिक्रिया जनाउनुभयो । उहाँले जाडोको विश्रामले टोलीलाई पुनः लयमा फर्कन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘आज हामीले अविश्वसनीय प्रदर्शन गर्यौँ । यो ब्रेक सही समयमा आएजस्तो लाग्छ । हामीले खेलको प्रशंसा गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर, यी कुराबाट पाठ सिक्नुपर्छ । नौ अंक गुमाउनु सामान्य कुरा होइन, हामीले यसलाई सुधार्नुपर्छ ।’ एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता