काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ सुरु भएको छ । ३३औं अन्तर्राष्ट्रिय अपांगता दिवसका सन्दर्भमा आयोजित प्रदर्शनीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलबार उद्घाटन गर्नुभएको थियो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरणका लागि अभियानका रूपमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले फरक क्षमता भएका कलाकारलाई प्रोत्साहित गर्न कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले अपांगता भएका व्यक्तिका सम्बन्धमा बनेका कानुन कार्यान्वयनको पाटो र उनीहरूलाई राज्यको हरेक कुरामा जोड्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा छोग्याल रिम्पोछे (कर्मा पुन्चोक लामा) लाई कदरपत्र प्रदान गरिएको थियो । उहाँले कलालाई आर्ट थेरापी र सिर्जना दुवै मान्न सकिने बताउनुभयो । प्रदर्शनीमा हार्तम्छाली, केके कर्माचार्य, किरण मानन्धर, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा राई, अरुणा हिङमाङ, रमेशनाथ खनाल, भुवन थापा, धनबहादुर याक्खा, केशवराज खनाल, एनबी गुरुङ, अक्कलबहादुर तामाङ, एञ्जिला जोशी, अर्जुन तामाङ, बलबहादुर सार्कीलगायत कलाकारका कलाकृति समाविष्ट छन् । प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts