बार्सिलोना । बार्सिलोनाले घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ । लगातार हारले खेलाडीमा असर परेको बार्सिलोनाका सहायक प्रशिक्षक मार्कस सोर्गले बताउनुभएको छ । सोर्गले डिएजेडएनसँग कुरा गर्दै भन्नुभयो, ‘हामीले यस अनुभवबाट सिक्नुपर्छ, किनकि तालिका अहिले चुनौतीपूर्ण छ । हामीले थोरै समयमै धेरै खेलहरू खेलेका छौँ र टोली यसमा धेरै अनुभवी छैन ।’ प्रशिक्षक हृयान्सी फ्लिकको दुई खेलको प्रतिबन्धका कारण गत सप्ताह रियल बेटिससँग २-२ को बराबरीपछि सोर्गले आइतबार टोलीको नेतृत्व गर्नुभएको थियो । सोर्गले हारको कारण एकाग्रताको अभावलाई दोष दिनुभयो ।
‘पहिलो पाँच मिनेटमै हामीले गोल खायौँ, जुन स्वीकार गर्न गाह्रो छ । हामीले राम्रो खेल नखेले पनि २० गोलको अवसर सिर्जना गर्न सफल भयौँ । तर, कुनै गोल गर्न सकेनौँ । यति धेरै अवसर गुमाउनुहुन्छ भने जित निकाल्न गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामी लिगमा हालको प्रदर्शनबाट खुस छैनौँ तर यसलाई स्वीकार गर्नुपर्छ । हामी कडा मिहिनेत गरिरहेका छौँ । हामी शीर्ष स्थानमा छौँ, अग्रता गुमाउन सक्छौँ तर अझै पनि त्यो स्थानमा रहँदै छौँ ।’
बार्सिलोना एक महिनाभन्दा बढी समयदेखि जित निकाल्न संघर्षरत छ । बार्सिलोनाले आइतबार लेगानेससँग १-० को हार बेहोरेको थियो । यससँगै बार्सिलोनाले लिगका पछिल्ला ६ खेलमा मात्र एक जित हात पारेको छ । बार्सिलोना र एट्लेटिको मड्रिड हाल ३८ अंकसहित तालिकाको शीर्ष दुई स्थानमा छन् । बार्सिलोना रियल मड्रिडसँग एक अंक अगाडि छ । तर, सिजनको सुरुवातमा भने बार्सिलोनाले सानदार प्रदर्शन गर्दै सबै प्रतियोगितामा १६ मध्ये १४ खेल जितेको थियो । तर, च्याम्पियन्स लिगमा ६ मध्ये पाँच खेल जिते पनि घरेलु मैदानको समस्याको समाधान भएको छैन । एजेन्सी ।






