मड्रिड । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले पराजय बेहोरेको छ । आइतबार राती सम्पन्न खेलमा बार्सिलोनाले लेगानेससँग १-० को हार बेहोरेको हो । तर, गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा कायमै छ । समान ३८ अंक भएको एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । भ्रमणकारी लेगानेसका लागि सर्जियो गोन्जालेजले चौथो मिनेटमा हेडबाट गरेको गोल नै निर्णायक रहृयो । पूरा खेल अवधिमा क्याटलान टिमले शृंखलाबद्ध आक्रमण बुने पनि त्यसमध्ये कुनैलाई पनि निर्णायक बनाउन सकेन ।
सिजनको सुरुमा हृयान्सी फ्लिकको बार्सिलोनाले उत्कृष्ट सुरुवात लिए पनि अब लिगका पछिल्ला छ खेलमध्ये तीनमा पराजित भएको छ । आइतबारकै अर्को खेलमा एट्लेटिको मड्रिडले गेटाफेलाई १-० ले हरायो । त्यसमा एलेक्जान्डर सोरिथले निर्णायक गोल गर्नुभयो । एट्लेटिको समान ३८ अंकमै दोस्रोमा छ भने रियल मड्रिड ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
बार्सिलोनाको तुलनामा दुवै म्याड्रिड क्लबले एक खेल कम खेलेका छन् । यो जितले लेगानेसलाई १५औँ स्थानमा पुर्याएको छ, जसले रेलिगेसन जोनभन्दा चार अंकको दूरी बनाएको छ । आगामी शनिबार शीर्ष दुई टोली बार्सिलोना र एट्लेटिकोबीच भिडन्त हुनेछ, जुन उपाधि दौडका लागि निर्णायक हुन सक्छ । एजेन्सी ।






