काठमाडौं । प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकले विभिन्न स्वर्णमा आठ स्वर्ण, चार रजत र दुई कांस्य गरी १४ पदक जितेका थिए ।
गीतकारसमेत रहनुभएका बुद्धवीर लामाले ६५ वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण, धर्म महर्जनले ५०-५५ वर्षको चार, पाँच हजार र १० हजार मिटर दौडमा स्वर्ण, ६५ वर्षमाथि पुष्पलाल श्रेष्ठले पाँच हजार मिटर दौडमा स्वर्ण र १० हजार मिटर दौडमा रजत, ५०-५५ वर्षमा कपिल भट्टले दुई सय मिटर दौडमा रजत र पाँच हजार मिटर दौडमा कांस्य तथा ४५-५० वर्षमा महेन्द्र बज्राचार्यले १० हजार मिटर दौडमा कांस्य जित्नुभएको थियो ।
त्यस्तै ४०-४५ वर्षमा राकेश महर्जनले एक हजार पाँच सय, पाँच हजार र १० हजार मिटर दौडमा स्वर्ण तथा ४०-४५ वर्षमा दिनेश महर्जनले पाँच हजार र १० हजार मिटर दौडमा रजत पदक प्राप्त गर्नुभएको थियो । ४५-५० वर्षको १० हजार मिटर दौडमा सहभागी भई दौड पूरा गर्नुभएका लाक्पा शेर्पा लामा र जहरमान गुरुङलाई पनि सम्मान गरियो । सोही अवसरमा विश्व प्रहरी संगठनबीच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण जित्नुभएका निमेश गुरुङ पनि सम्मानित हुनुभयो ।
उहाँहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले एक कार्यक्रमबीच प्रशंसा पत्रसहित सम्मान गर्नुभयोे । अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताको समापनका अवसरमा आयोजक मास्टर्स गेम एसोसिएसन, बंगाल र कुचविहार मास्टर्स एसोसिएसनले बुद्धवीरलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड पनि प्रदान गरेको प्रयास मञ्च नेपालले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता