काठमाडौं । अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (इसिइटिए) को आयोजनामा १२औँ किन्डर ओलम्पिक लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबारदेखि सुरु भएको छ ।
किन्डर ओलम्पिकको युवा तथा खेलकुद पूर्वमन्त्री विराजभक्त श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयोे । कार्यक्रममा सहभागी विद्यार्थीले मार्च पास्ट गरेका थिए । मार्च पास्टको अगुवाइ ओलम्पियनद्वय बक्सिङका प्रवीण तुलाधर र मानबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
पहिलो चरणको कार्यक्रममा १९ विद्यालयका ७२० विद्यार्थीको सहभागिता रहेको इसिइटिएका सल्लाहकार केदारमान स्थापितले जनाउनुभएको छ । विद्यार्थीले कराँते, उसु, जिम्न्याष्टिक र तेक्वान्दोको प्रस्तुति गरेका थिए । पहिलो चरणका सहभागीलाई इसिइटिएकी अध्यक्ष विना शर्मा, विश्व शारीरिक सुगठनकी रजत विजेता रजनी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
दोस्रो चरणको कार्यक्रम पुस १० र तेस्रो माघ २७ गते सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमै हुनेछ । ‘जित्नुभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किन्डर ओलम्पिकको तेस्रो चरणसम्म विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका एक हजार आठ सयभन्दा बढी बालबालिका सहभागी हुने आयोजकले जनाएको छ ।






