काठमाडौं । एन प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा सातौँ एन प्याब्सन खेलकुद सप्ताह आज (शुक्रबार)देखि हुने भएको छ । खेलकुद सप्ताहमा विभिन्न चार खेलको प्रतिस्पर्धा हुने कार्यक्रम आयोजकका उपाध्यक्ष अतिरिक्त क्रियाकलाप संयोजक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो । फुटसल, बास्केटबल, कबड्डी र तानडोरीमा छात्र/छात्रातर्फ प्रतिस्पर्धा हुने छ ।
चारै खेलका लागि संयोजक पनि तोकिएको छ । फुटसलमा गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष निराजन आचार्य, बास्केटबलमा आयोजकका उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा आयोजकका पूर्वउपाध्यक्ष श्याम योञ्जन र तानडोरीमा आयोजकका उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाई संयोजक तोकिएको छ ।
फुटसल कमलादीस्थित युनिग्लोब कलेज, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुल, कबड्डी र तानडोरी भीमसेनगोलास्थित आदर्श माविमा खेलाइने छ । खेलकुद सप्ताहमा १२० भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकका अध्यक्ष अमृत खड्काले जानकारी दिनुभयो । उद्घाटनको मार्च पास्टमा शीर्ष तीन स्थानमा रहने विद्यालयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्रदान गरिने छ । पहिलो दिन उद्घाटन समारोहमात्र हुनेछ ।
मंसिर २९ गतेसम्म चल्ने खेलकुद सप्ताह सञ्चालन गर्न करिब सात लाख रुपैयाँ खर्च हुने संयोजक भुजेलले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts