
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ देखि १२ वर्ष उमेर सूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यका सफल खेलाडी बनाउने आधार तयार गर्न सातै प्रदेशमा एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने भएको छ । नेपाली खेलकुदको इतिहासमै पहिलोपटक एन्थ्रोपोमेट्रिक टेस्टमार्फत् खेलाडी छनोट हुन लागेको हो ।
आठ वर्षेयोजना अनुसार स्पोटर््स फर फ्युचर (एसएफएफ) कार्यक्रमको सुरुवात गरेको हो । ओलम्पिकसम्मको सहभागितालाई लक्ष्य राखी शारीरिक बनोट र क्षमताको परीक्षणमार्फत् खेलाडी छनोट कार्यक्रम सुरुवात गरिएको परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बताउनुभयो ।
एन्थ्रोपोमेट्रिक टेस्ट कोशी प्रदेशको इलाममा मंसिर १८-१९ र विराटनगरमा मंसिर २१-२२, मधेश प्रदेशको धनुषामा मंसिर २४-२५ र वीरगञ्जमा मंसिर २७-२८, बागमती प्रदेशको भक्तपुरमा मंसिर ३०– पुस १ र चितवनमा पुस ३-४ तथा गण्डकी प्रदेशको पोखरामा पुस ६-७ र म्याग्दीमा पुस ९-१० गतेसम्म हुनेछ ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा मंसिर १८-१९ र टीकापुरमा मंसिर २१-२२, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर २६-२७ र सल्यानमा मंसिर २९–३० तथा लुम्बिनी प्रदेशको बर्दियामा मंसिर २३-२४ र दाङको बेलझुण्डीमा पुस २-३ गतेसम्म सञ्चालन हुनेछ ।
सातै प्रदेशबाट समान १०-१० उत्कृष्ट बालबालिका छनोट गरी पहिलो वर्ष सामान्य तालिममा समावेश गरिने छ । पहिलो वर्ष बालबालिकालाई मोटर सीपहरू जस्तै गति, बल, समन्वय, लचकता र सहनशीलतामा सुधार ल्याउने उद्देश्यसहित सामान्य शारीरिक विकासमा ध्यान दिइने छ ।
दोस्रो वर्ष बालबालिकाको शारीरिक संरचना, मोटर सीप विकास र व्यक्तिगत चासोका आधारमा उनीहरूलाई विशेष खेलमा खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिने तथा खेल विज्ञानको सहायतामा पोषण, मनोविज्ञान र रिकभरी रणनीतिबारे प्रशिक्षण प्रदान गरिने छ । एक ओलम्पिक चक्रपश्चात् पनि सम्बन्धित खेलको क्षमता प्रदर्शनमा सुधार नआएको खण्डमा खेलाडीलाई निरन्तरता दिइने छैन ।
राखेपले छनोट भएका बालबालिकालाई आवास, अध्ययन, दैनिक खेलकुद तालिम, पोषण र स्वास्थ्य सेवा, खेल मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहायता र चोटपटक रोकथाम रणनीतिसम्बन्धी सेवा उपलब्ध गराउने छ ।
एन्थ्रोपोमेट्रिक टेस्टका लागि राखेपले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टोलीलाई परिचालन गर्ने छ । कोशी, मधेश, बागमती र गण्डकीमा सानका निर्देशक कृष्ण तिमिल्सिनाको नेतृत्वमा राजेन्द्ररत्न तुलाधर र शिवराज भट्ट खटिने हुनुभएको छ । बाँकी प्रदेशमा सुलोचना सिजख्वा, कुमारी हिरा पन्त र रितामैया प्रजापती जानुहुने छ ।
छनोट भएका बालबालिकाको अन्तिम नामावली २०८१ साल पुस २९ गते प्रकाशित गरिने छ भने नियमित प्रशिक्षण २०८२ साल वैशाख २ गतेदेखि प्रारम्भ हुने छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले सन् २०३२ को ओलम्पिकमा पदक जित्ने रणनीतिक तयारीअनुरूप कार्यक्रम सञ्चालन गर्न लागिएको बताउँदै नेपाली खेलकुदमा वैज्ञानिक प्रशिक्षणलाई व्यहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । वैज्ञानिक तरिकाबाट खेलाडी छनोट र प्रक्षिणमा जोड दिँदै आउनुभएका सदस्य-सचिव घिसिङले यो कार्यक्रम नेपाली खेलकुदका लागि कोशेढुंगा साबित हुने बताउनुभयो ।
१९औँ एसियाडपछि मिसन २०२६ सुरुवात गरेको राखेपले ओलम्पिकलगत्तै नयाँ कार्यक्रम सुरुवात गरेको हो । ‘गत वर्ष पनि हामीले केही स्थानमा यो कार्यक्रम सञ्चालन गरेका थियौँ । त्यही कार्यक्रमको मूल्यांकनका आधारमा स्पोटर््स फर फ्युचर कार्यक्रम सुरु गरिएको हो । रणनीतिक तयारीअन्तर्गत हामी अगाडि बढेका हौँ,’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘यो कार्यक्रममार्फत् छनोट भएका बालबालिकालाई खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिँदै सन् २०३२ को ओलम्पिकमा पदक जित्ने हाम्रो दूरगामी लक्ष्य हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच