काठमाडौं । तार्केश्वर नगरपालिकाको आयोजनामा तेस्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता आज(मंगलबार)देखि सुरु हुने भएको छ । प्रतियोगितामा ५३ विद्यालयका तीन हजार ४५४ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिस गरी १० खेलको प्रतिस्पर्धा हुनेछ ।
फुटबल, भलिबल र कबड्डी तार्केश्वर ९, मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी, एथलेटिक्स हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय तथा कराते र उसु तार्केश्वर ९, मनमैजुस्थित अजिमा कबर्डहलमा हुनेछ । तेक्वान्दो तार्केश्वर ६, पैयाँटारस्थित सन फ्लावर एकेडेमी, बास्केटबल तार्केश्वर १०, मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी, ब्याडमिन्टन तार्केश्वर १० स्थित जि फोर ब्याडमिन्टन हल र टेबलटेनिस तार्केश्वर ४ स्थित श्रृजना ज्ञान सागर स्कुलमा खेलाइने छ ।
आयोजक नगरपालिकाका मेयर कृष्णहरि महर्जनले विद्यार्थीमा भएको अन्तरनिहीत खेल प्रतिभालाई प्रस्फुटन गर्न, खेल क्षेत्रबाट एकता एवं मैत्रीपूर्ण भावना अभिबृद्धि गर्न, जिल्ला तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको पूर्व तयारी गर्दै सफलता हासिल गर्न, नगरस्तरीय खेलकुदको संस्थागत विकास गर्न र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले २०७९ सालदेखि प्रतियोगिताको सुरुआत गरिएको बताउनुभयो ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः एक लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्कणमा हिमरश्मि पहिलो भएको थियो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन ३० लाख बजेट विनियोजन गरिएको छ । ‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने मुल नारासाथ हुन लागेको प्रतियोगिता मंसिर २५ गतेसम्म चल्ने छ ।






