
लण्डन । च्याम्पियन्स लिग फुटबलमा आर्सनलले २१ वर्षयताकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ । मंगलबार राती भएको खेलमा बुकायो साकाले सानदार गोल गरेपछि आर्सनलले पोर्चुगलको क्लब स्पोर्टिङलाई ५-१ ले हराउँदै २१ वर्षयताकै सबैभन्दा ठूलो जित दर्ता गरेको हो । आर्सनलका लागि काई हाभर्ट्ज, ब्राजिलियन डिफेन्डर गेब्रियल मार्टिनेली, गेब्रियल मागाल्हायेस र लियान्ड्रो ट्रोसार्डले गोल गर्नुभयो ।
खेलको सातौँ मिनेटमा गेब्रियलको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । २२औँ मिनेटमा साकाको पासमा काईले आर्सनलको अग्रता दोब्बर बनाउनुभयो । पहिलो हाफको अन्त्यतिर मागाल्हायेसले गोल गर्दै आर्सनललाई फराकिलो जितनजिक पुर्याउनुभएको थियो । दोस्रो हाफको सुरुवातमा स्पोर्टिङका गोन्कालो इनासियोले एक गोल फर्काए पनि साकाले पेनाल्टीमार्फत् आर्सनलको तीन गोलको अग्रता पुनःस्थापित गर्नुभयो ।
निर्धारित खेल सकिन आठ मिनेट बाँकी रहँदा ट्रोसार्डले अर्को गोल थप्दै आर्सनललाई ५-१ को सानदार जित दिलाउनुभयो । आर्सनलले पछिल्लोपल्ट सन् २००३ मा च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानविरुद्ध भएको खेलमा समान स्कोर निकालेको थियो । त्यसपछि आर्सनलको यो सबैभन्दा ठूलो जित हो । जितसँगै आर्सनलले पाँच खेलबाट १० अंक जोड्दै ३६ टोलीको समूहमा सातौँ स्थान ओगटेको छ । स्पोर्टिङ समान अंकसहित गोल अन्तरका आधारमा एक स्थान तल झरेको छ ।
यसैगरी लिगकै अर्को खेलमा बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गरेको छ । बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्नुभयो । खेलको १०औँ मिनेटमा ब्रेस्टका गोलकिपर मार्को बिजोटको फाउलपछि पेनाल्टी पाएपछि लेवान्डोस्कीले पहिलो गोल गर्नुभएको थियो । डानी ओल्मोले बार्सिलोनाका लागि दोस्रो गोल गर्नुभयो । खेलको अतिरिक्त समयमा लेवान्डोस्कीले अलेजान्ड्रो बाल्डेको पासमा गोल गर्दै आफ्नो दोस्रो गोल पूरा गर्नुभयो । जितसँगै इन्टर मिलानभन्दा एक अंकले पछाडि परेको बार्सिलोना १२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले अब ला लिगामा लास पाल्मास, मालोर्का र रियल बेटिसविरुद्ध खेल्नेछ ।
लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले फेयनोर्डविरुद्ध ३-३ को नाटकीय बराबरी खेलेको छ । सिटीले ५० मिनेटभित्र तीन गोल गर्दै स्पष्ट अग्रता लिएको थियो । एर्लिङ हालान्डले दुई गोल गर्नुभएको थियो भने इल्के गुन्डोगानको अर्को गोलले टोलीलाई मजबुत बनाएको थियो । तर, खेलको अन्तिम १५ मिनेटमा फेयनोर्डले असम्भव पुनरागमन गर्यो । एनिस हाज मौसाले ७५, सान्टियागो गिमेनेजले ८२ र डेभिड हृयान्कोले ८९औँ मिनेटमा गोल गर्दै सिटीलाई स्तब्ध बनाउनुभयो । बराबरीसँगै सिटीले च्याम्पियन्स लिगको अंक तालिकामा पाँचौँ स्थानमा पुग्ने मौका गुमाएको छ । सिटी १५औँ स्थानमा झरेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच