वासिङ्टन । विश्व च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत पेरुलाई १-० ले पराजित गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लाउतारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । खेलको ५५औँ मिनेटमा लियोनल मेस्सीको एसिस्टमा मार्टिनेजले गोल गर्नुभएको थियो ।
जितसँगै अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको छ । यो जितले अर्जेन्टिनाले अब कम्तीमा पनि छैटौँभन्दा माथि नै रहने निश्चित हुँदा २०२६ को फिफा विश्वकप फुटबलमा छनोट हुने पक्का भएको छ ।
त्यस्तै अर्को खेलमा ब्राजिलले उरुग्वेसँग १-१ को बराबरी खेलेको छ । गेर्सनको उत्कृष्ट गोलसँगै ब्राजिलले उरुग्वेसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गर्नुभयो । ५५औँ मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । त्यसको ७ मिनेटमा नै गारसनले गोल गर्दै ब्राजिललाई बराबरीमा पुर्याउनुभयो । त्यसपछि कुनै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।
बराबरीपछि उरुग्वे १२ खेलमा २० अंकका साथ दोस्रो स्थानमा छ । समान खेलबाट १८ अंक जोडेको ब्राजिल पाँचौँ स्थानमा छ । नौ अंकमात्र भएको चिली नवौँ स्थानमा तथा सात अंक भएको पेरु पुछारमा छ ।
मंगलबार नै भएको खेलमा एन्नर भ्यालेन्सियाको निर्णायक गोलमा इक्वेडरले कोलम्बियामाथि १-० को जित हात पारेको छ । खेलको ३४औँ मिनेटमा इक्वेडरका डिफेन्डर पिएरो हिनकापी रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुभएको थियो । बोलिभिया र पाराग्वेले २-२ गोलको बराबरी खेलेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटको अर्को चरणका खेल मार्चमा हुनेछन् । शीर्ष ६ टोलीले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा स्वतः स्थान बनाउनेछन् । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता