✍️ सृजना अर्याल
धन्न १२औं दिनको स्मृतिसभामा सरिक हुन सकेँ । स्टार्फ नर्सका लागि फर्म भर्ने बेलामा नागरिकता चाहिने रहिछ । मेरो नागरिकता थिएन । नागरिकता बनाउन बहिनी सम्झना अर्याललाई लिएर गएँ जिल्ला प्रशासन । आमाको नागरिकता त बोकेर गएकी थिएँ । त्यहाँका कर्मचारीले अभिभावकविना दिन नमिल्ने बताउनुभयो । त्यस बेला न त फोन थियो न सजिलै १७ किमीको दूरीमा रहने आमालाई लिएर आउन सक्ने सम्भावना ।
तर, जसरी पनि त्यही दिन नागरिकता जरुरी थियो मलाई । अहिले जस्तो सवारीसाधन पनि थिएनन् । घरको फोनिक्स साइकल चढेर दुई बहिनी पहिलोपटक जिल्ला प्रशासन पुगेका थियौँ । कहिल्यै नगएको प्रशासन कार्यालय पुग्न धेरैलाई सोध्नु पनि परेको थियो । प्रशासनमा अहिले जस्तो कोही आफ्ना चिनेजानेका पनि थिएनन् । नागरिकता त्यस दिन बन्न नसक्ने जस्तै भयो । अब के गर्ने ? मन अतालिएर उस्तै ।
चितवन जिल्लामा २०१४ सालमा तत्कालीन सरकारले राप्ती दुन परियोजना लागू गरेको थियो । सो परियोजनाअन्र्तगत बस्ती बसालिएको थियो चितवनमा । यो परियोजनापछि विभिन्न जिल्लाबाट बसाइँसराइको केन्द्र चितवन हुँदै थियो । जुन परियोजनाकै कारण भर्खर बस्ती बस्दै गरेको पश्चिम चितवनको भूमिमा उहाँको पसिना चुहिएको थियो ।
दुई बजिसकेको थियो, म के गर्ने, नर्गेने दोधारमा थिएँ । यत्तिकैमा त्यसै कोठामा तत्कालीन शारदानगर गाउँ विकास समितिका अध्यक्ष आशबहादुर लामा बुबा आउनुभयो । म आत्तिएको देखेर नै होला कहाँको नानी हो यो... किन रुन्चे भएकी छिन् भन्दै सोध्नुभयो । मलाई उहाँको नाम त थाहा थियो, घरमा कुरा भएको सुन्थे तर भेटेको भने थिएन । म गुञ्जनगर गाविसको उहाँ शारदानगरको पर्नुभयो ।
उहाँले सोद्धा नै मनमा आशाको झिल्को आउन थाल्यो । अनि उहाँले नै कसको छोरी हौ नानी भन्नुभयो । मैले करुणानिधि अर्यालको भने । गुञ्जनगरको करुणानिधि भन्नुभयो, हजुर बुबा भने, त्यसपछि उहाँले के गर्न आयौ भन्नुभयो । मैले सबै कुरा सुनाए । मेरो कुरा नसकिँदै उहाँले कर्मचारीलाई आदेश नै दिनुभयो । मेरो साथीको छोरी हो ऊ । उसको जिम्मा म लिन्छु नागरिकता बनाई दिनू भन्नुभयो । उहाँले भनेपछि मेरो नागरिकत सजिलै बन्यो ।
म मात्रै होइन म जस्ता धेरैको नागरिकता बनाउन उहाँको भूमिका अतुलनीय छ । मैले धेरै म जस्ता अरूका प्रशासन, प्रहरीतर्फका समस्याका समधान उहाँ हुनुभएको मैले सुनेको थिए । उहाँ यस्तो जनप्रनिधि हुनुहुन्थ्यो, उहाँको नाम सुन्ने बित्तिकै प्रशासनकाहरू पनि डराउथे रे । उहाँका बारेमा अरू पनि धेरै सुनेको छु मैले । उहाँले जनताका काममा ढिला सुस्ती भयो भने उहाँले कर्मचारीलाई चेताबनी दिनुहुन्थ्यो । त्यसो त शारदानगरलगायतको क्षेत्रको विकास निमार्णका पर्यावाची समान व्याक्तित्व हुनुहुन्थ्यो उहाँ । भारतीय सेनाको जागिर छोडेर उहाँ चितवन हाल भरतपुर-१९ मा बस्न आउनुभयो । आफ्नो माटोमा नै पसिना चुहाउनुपर्छ भन्ने उहाँको राष्टिप्रेमले अन्ततः उहाँ जनताको आशा बन्न सक्नुभयो ।
चितवन जिल्लामा २०१४ सालमा तत्कालीन सरकारले राप्ती दुन परियोजना लागू गरेको थियो । सो परियोजनाअन्तर्गत नै ढड्डी फाड्दै वस्ती बसालिएको थियो चितवनमा । यो परियोजनापछि हालको गण्डकी प्रदेशलगायतका विभिन्न जिल्लाबाट बसाइँसराइको केन्द्र चितवन हुँदै थियो । जुन परियोजनाकै कारण भर्खर बस्ती बस्दै गरेको पश्चिम चितवनको भूमिमा उहाँको पसिना चुहिएको थियो । मेराजस्तो अभिभावकीय छत्रछाया उहाँबाट धेरैले पाएको पछिल्ला दिनमा झन् धेरै सुन्दै आए । तत्कालीन शारदानगर गाउँ पञ्चायतका प्रधानपञ्च तथा शारदानगर गाउँ विकास समितिका समेत अध्यक्ष हुनुभएका उहाँको ८९ वर्षको उमेरमा गत असोज १९ गते शनिबार भरतपुर महानगरपालिका-१९ किरण टोलस्थित आफ्नै निवासमा निधन भएको थियो ।
विसं १९९२ मंसिर १५ गते बुबा सेते लामा र आमा श्रीमाया लामाको कोखबाट गोरखा जिल्ला साविक खरिबोट गाविस-२/हाल अजिरकोट गाउँपालिका-२ सिस्नेमा उहाँको जन्म भएको थियो । विसं २०१५ सालमा चितवन जिल्ला साविक शारदानगर गाविस-२/हाल भरतपुर महानगरपालिका-१९ किरण टोल रामपुर बसाइँसरी आउनुभएको थियो । त्यसपछि उहाँ भारतीय सैनिक सेवामा दुई वर्ष जति जागिर खानुभयो । छुट्टीमा घर आउँदा उहाँलार्ई आफ्नै माटोमा पसिना चुहाउन मन लाग्यो । सेनाको जागिर छोडेर सामाजिक सेवातर्फ होमिनुभयो । त्यसबेला पश्चिम चितवनको रामपुरमा कृषि तथा वनविज्ञान विश्वविद्यालय भर्खर खोलिएको थियोे । घरपायक पनि मिल्ने त्यतै केही समय सेवा गर्नुभएको थियो ।
जनताको सेवा गर्नमा हुट्टहुटी जागेका उहाँले त्यो जागिर पनि अन्ततः छोडेर सामाजिक कार्यकता भई सेवा गर्नुभयो । तत्कालीन समयमा स्थानीयले विभिन्न खाले समस्या पर्दथे, बसाइँसराइका क्रममा धेरैका आशाका पात्र उहाँ बन्दै जानुभयो । पछि वडाको जिम्वेवारीसमेत समाल्दै तत्कालीन शारदानगर गाउँ पञ्चायतको प्रधानपञ्चका रूपमा तीन कार्यकाल इमानदारीपूर्वक सेवा गर्नुभएको थियो । उहाँले विसं २०४६ सालको जनआन्दोलनपछि तत्कालालीन शारदानगर गाउँ विकास समितिको अध्यक्षका रूपमा दुई कार्यकाल सेवा गर्नुभएको थियो । उहाँ पश्चिम चितिवनकै पहिलो शैक्षिक संस्था शहीद स्मारक कलेजका सस्थापक अध्यक्षसमेत हुनुहुथ्यो । शारदानगरकै शारदा माविलगायतका शिक्षण संस्थामा पनि उहाँको योगदान उल्लेखनीय रहेको थियो ।
उहाँ दिवंंगत हुनुभएको १२औं पुण्य तिथिका दिन गत कात्तिक १ गते उहाँको स्मृतिमा शोकसभा आयोजना गरिएको थियो । नेपाली कांग्रेस भरतपुर–१९ वडा समितिको आयोजनामा भरतपुर-१९ स्थित किरण चोक रामपुरमा रहेको किरण उत्थान संघको भवनमा सो शोकसभा आयोजना गरिएको थियो । सो शोकसभा हुने कुरा आमाले सुनेपछि उहाँको शोकसभामा आमाले मलाई पनि लिएर जान भन्नुभयो । मैले हवस् म जानै छ, लगिदिन्छु भने । यसै क्रममा बाटामा आमालाई सोधे । आमा, तपाईंलाई उहाँको शोकसभामा कांग्रेसीको नाताले जान मन लागेको कि, उहाँबारे तपाईं जनप्रतिनिधि हँुदाका केही विशेष अनुभूति पनि छन् भनेर सोधेँ ।
आमाले उहाँ त हकी मान्छे हो भन्नुभयो । २०५१ सालतिर उहाँले हाम्रो एकजना छिमेकी दिदीको न्यायको प्रसंग उक्काउनुभयो । आमा छिमेकी दिदीको अधिकारका लागि शारदानगर गाविस हेल्थपोष्ट त्यो दिदीको घर जानुभएछ । उहाँको छोरा पनि थियो । त्यो छोरालाई बाबुले स्वीकारेका नरहेछन् । त्यसलै आमासहित केही आफन्ती गाविस अध्यक्षसहितको छलफलमा सहभागी हुनुभएको रहेछ । त्यसबखत आमाले यस सानो बाबुलाई यो छोरीले अन्त विवाह गरिन भने पाल्नुपर्छ, ढ्याग्रो ठोक्नैपर्छ, छोरालाई अंश दिनैपर्छ भन्नुभएछ । आमाको कुरामा सहमति दिँदै यो बाहुनी बज्यैले अर्धम बोलेको छैन भन्दै बच्चासहित छिमेकी दिदीलाई अधिकार दिलाउन प्रमुख भूमिका अध्यक्ष लामा बुबाले खेल्नुभएको रहेछ । त्यस कुराले आमालाई उहाँप्रति थप सम्मान जागेछ ।
त्यसअघि बुबाले पनि उहाँ राम्रो मान्छे हुनुभएको बारे सुन्नु पनि भएको सम्झना त छँदै थियो आमालाई । आफैँसँग परेको घटनाले होला आमालाई उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन मन लागेको । उक्त शोकसभा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले दिवंगत अध्यक्ष लामा बुबाले नेतृत्व गर्दाका विगत सम्झँदै शारदानगरको समग्र विकास निमार्णमा उहाँको योगदान अमूल्य रहेको बताउनुभयो । सो क्रममा उहाँले कुनै साथीहरू बिरामी परेर आयो भने ल बस भन्दै आफ्नो मोटरसाइकलमा आफैँले अस्पताल लिएर जाने प्रसङ्ग कोट्याउनुभयो । सो कार्यक्रममा नै उपस्थित पूर्वमन्त्री कांग्रेस चितवनका पूर्वपार्टी सभापति शेषनाथ अधिकारीले पनि दिवंगत उहाँको निधनले अपूर्णनीय क्षति पुगेको बताउनुभएको थियो ।
शहीद स्मारक कलेज खोल्न विशेषगरी उहाँको पहल मन छुने खालको छ । शारदा मा.वि.मा पढ्ने एक छात्रा भरतपुरमा कलेज जाने क्रममा असुरक्षित भएको घटनाले नजिकै कलेज भएको भए त त्यो छोरीले यस्तो घटना सहन पर्दैनथ्यो भन्ने भएपछि सबैलाई कलेज खोल्न उहाँले नै झक्झकाउनु भएको हो ।
कार्यक्रममा बोल्नुभएका संविधानसभा सदस्य विण्णुमाया परियारले उहाँ प्रेरणाको पात्रको हुनुभएको बताउनुभयो । उहाँसँगै उहाँ वडा सदस्यको रूपमा काम गर्दा सधैँ अभिभावका रूपमा आफूले पाएको भन्दै महिलालाई साहै्र सम्मान गर्ने नेता रूपमा चित्रित गर्नुभयो । सो क्रममा द्वन्द्वकालको प्रसंग कोट्याउँदै उहाँले भन्नुभयो, ‘तपाई गाविसको नजिक हुनुहुन्छ । बम पड्किएको आवाज सुन्नुभयो भने खबर पठाउनु है म आइहाल्छु ।
सो कार्यक्रममा उपस्थित कांग्रेस चितवनका पूर्वसभापति तोपमान सिंह गुरुङ, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशी, बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, सचिव ध्रुव पोखरेल, वडा १९ का पूर्ववडा अध्यक्ष कर्णबहादुर गुरुङ, शिक्षाविद बेलबहादुर गुरुङ, वडासभापति आशमान तमाङ, सचिव मसिना गुरुङलगायतले शोक मन्तव्य दिने क्रममा उहाँको योगदानको चर्चा गर्नुभएको थियो । सो क्रममा तत्कालीन छिमेकी गाविस. गुञ्जनगरका पूर्वउपाध्यक्ष युवा नेता विष्णुप्रसाद ढकालले उहाँको जीवनीबारे बताउँदै उहाँ आदर्श जनप्रतिनिधि हुनुभएको बताउनुभएको थियो ।
सबैका आशा र भरोसाको केन्द्र उहाँबारे चितवनको पहिलो महिला अधिवक्ता फूलमाया रानाभाट यस्तो बताउनुहुन्छ, ‘उहाँ हामी सबैका आदरणीय, सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो ।’ महिला सशक्तीकरणका लागि उहाँको चासो र चिन्तन सधैँ सराहना गर्ने खालको थियो । त्यसो त तत्कालीन महिला तथा बालबालिका कार्यालय चितवनका पूर्वकर्मचारी पार्वती पौडेल पनि कर्मचारीका रूपमा उहाँले गर्नुभएको साथ र सहयोग कहिल्यै बिर्सन नसक्ने बताउनुहुन्छ । सोही गाविसमा अवस्थित सिर्जना महिला विकास सहकारी सो स्थानमा खोल्न बुबाकै कारण सहज भएको उहाँको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष भन्नुहुन्छ ‘आफू गाविस अध्यक्ष हुँदा तालिम शुल्क तिरेर प्रस्ताव लेखन तालिममा पाँचजनालाई सरिक गराउनुभएको थियो । उहाँ विकासवादी नेता हो’ ।
भरतपुर १९ मा अवस्थित शारदा मावि र त्यहाँ नै रहेको शहीद स्मारक कलेज अनि शारदानगर हेल्थपोष्ट, रामपुर कृषि क्याम्पसलगायतको स्थापनाका लागि उहाँको योगदान अतुलनीय छ । शहीद स्मारक कलेज खोल्न विशेषगरी उहाँको पहल मन छुने खालको छ । शारदा माविमा पढ्ने एक छात्रा भरतपुरमा कलेज जाने क्रममा असुरक्षित भएको घटनाले नजिकै कलेज भएको भए त त्यो छोरीले यस्तो घटना सहन पर्दैनथ्यो भन्ने भएपछि सबैलाई कलेज खोल्न उहाँले नै झक्झकाउनु भएको हो । तत्कालीन शारदानगर गाविसलाई नमुना गाविस बनाउन उहाँको योगदान अतुलनीय छ । उहाँको भौतिक देह अस्ताएको छ तर उहाँले गर्नुभएको विकास, सामाजिक सेवा सधैँ–सधैँ उदाइरहनेछ, आशाका पात्र आशबहादुर बुबाप्रति हार्दिक श्रद्धाञ्जलि ।






