बु्रस्सेल । युइएफए नेसन्स लिगमा बेल्जियम घरेलु मैदामै पराजित भएको छ । बिहीबार राति सम्पन्न खेलमा बेल्जियम इटालीसँग १-० ले पराजित भएको हो । किंग बाउडोइन रंगशालमा स्यान्द्रो टोनालीले गरेको एकमात्र गोल इटालीलाई जित दिलाउन पर्याप्त बन्यो ।
उहाँले खेलको ११औं मिनेटमा गोल गर्नुभएको थियो । यही समूहको अर्को खेलमा फ्रान्स इजरायलसँग गोलरिहत बराबरीमा रोकियो । जितसँगै पाँच खेलमा १३ अंक जोडेको इटाली लिग ‘ए’ को समूह-२ मा शीर्षस्थानमा छ । पराजित बेल्जियम समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा छ ।
यसैगरी, युइएफए नेसन्स लिगमा बिहीबार इंग्ल्याण्डले घरेलु टोली ग्रीसविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ । एथेन्स ओलम्पिक रंगशालामा इंग्ल्याण्डका जित दिलाउन ओली वाट्किन्स र कर्टिस जोन्सले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो । खेलको सातौं मिनेटमा वाट्किन्सको गोलमार्फत इंग्ल्याण्डले अग्रता लिएको थियो ।
७७औं मिनेटमा ओडिसेयस भ्लाकोडिमोसबाट आत्मघाती गोल हुन पुग्दा इंग्ल्याण्डको अग्रता दोब्बर बन्यो । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा जोन्सले गोल गर्दै टोलीलाई सहज जित दिलाउनुभयो । यही समूहको अर्को खेलमा आयरल्याण्डले फिनल्याण्डविरुद्ध १-० को कठिन जित निकाल्यो । यसैगरी अन्य खेलमा नर्वेले स्लोभेनियालाई ४-१, अस्ट्रियाले काजकिस्तानलाई २-० तथा नर्थ म्यासेडोनियाले लात्भिया र फिरोय आइल्याण्ड्सले अर्मेनियालाई समान १-० ले पराजित गरे । एजेन्सी ।






