
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)का लागि चर्चित भारतीय क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फम्र्याट क्रिकेट खेलिसक्नुभएका धवनलाई अनुबन्ध गरेको हो । सम्झौतामा मालिक झनकदत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गर्नुभएको छ । सम्झौता रकम भने गोप्य राखिएको छ ।
धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनकदत्त खनालले खुसी व्यक्त गर्नुभयो । धवनलाई अनुबन्ध गर्नु नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धि रहेको उहाँले बताउनुभयो । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौँ । यो हाम्रो र नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हो,’ खनालले भन्नुभयो, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’
३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आइपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किङ्सबाट खेल्नुभएको छ । उहाँ विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा गनिनुहुन्छ । उहाँले सन् २०१६ मा हैदरावादलाई आइपिएल जिताउनुभएको थियो भने भारतलाई एसिसी एसिया कपको उपाधि पनि जिताउनुभएको थियो ।
धवनले भारतका लागि ३२ टेष्टमा दुई हजार ३१३ रन बनाउनुभएको छ । १६७ एकदिवसीय खेलमा ६ हजार ७९३ रन बनाउनुभएका उहाँले ६८ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७५९ रन बनाउनुभएको छ । धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताउनुभएको छ । ‘कर्णाली याक्सले मलाई लिगका लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भन्नुभएको छ ।
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि वेष्ट इण्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ ।
टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्रगतिका बलर सोमपाल कामी हुनुहुन्छ । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहनुभएका गुल्शन झा, देव खनाललगायत टिममा हुनुहुन्छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
कर्णालीको ट्यालेन्ट हन्ट आज
नेपाल प्रिमियर लिगका लागि कर्णाली याक्सले ट्यालेन्ट हन्ट कार्यक्रम आज (शुक्रबार) गर्ने भएको छ । कर्णालीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर प्रतिभावान खेलाडी छनोट गर्ने जनाउनुभएको छ । ‘कर्णाली याक्सले कर्णालीका प्रतिभावान खेलाडी शुक्रबार छनोट गर्नेछ,’ प्रशिक्षक मल्लेले भन्नुभयो, ‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई समेट्ने प्रयास गर्नेछौँ ।’
हिमालयन विल्डर्स एण्ड इञ्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीका सहमालिक गृहेन्द्र घिमिरेले ट्यालेन्ट हन्ट वीरेन्द्रनगरको कर्णाली रंगशालामा हुने बताउनुभयो । कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका तीव्रगतिका बलर सोमपाल कामी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच