नयाँदिल्ली । करिब तीन महिनापछि हुने च्याम्पियन्स ट्रफी खेल्न भारतले पाकिस्तान जान अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले च्याम्पियन्स ट्रफी खेल्न भारतले पाकिस्तान जान अस्वीकार गरेको जनाएको छ । पाकिस्तान क्रिकेट बोर्डका प्रवक्ताले आइसिसीबाट भारत च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान आउँदैन भन्ने इमेल प्राप्त भएको जानकारी दिनुभयो ।
पाकिस्तान क्रिकेट बोर्डले थप सल्लाहका लागि आइसिसीको इमेल पाकिस्तान सरकारलाई पठाएको छ । पाकिस्तानले फेबु्रअरी १९ देखि मार्च ९ तारिखसम्म मिनी विश्वकप मानिने च्याम्पियन्स ट्रफीको आयोजना गर्दैछ । पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि कराँची, लाहोर र रावलपिन्डीमा रहेका रंगशाला स्तरोन्नति गर्न लाखौँ डलर खर्च गरेको छ । प्रतियोगितामा पाकिस्तान, भारत, बंगलादेश, इंग्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र अफगानिस्तानको सहभागिता रहनेछ ।
यसअघि च्याम्पियन्स ट्रफी गत वर्षको एसिया कपजस्तै हाइब्रिड होस्टिङ मोडलमा हुन सक्ने अनुमान गरिएको थियो । गत वर्ष पाकिस्तानमा भएको एसिया कपमा भारतका सबै खेल श्रीलंकामा खेलिएको थियो तर पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नाक्भीले गत शुक्रबार हाइब्रिड होस्टिङ मोडललाई च्याम्पियन्स ट्रफीमा स्वीकार गर्न नसक्ने बताउनुभएको थियो । यी दुई देशबीचको राजनीतिक तनावका कारण भारतले सन् २००८ देखि पाकिस्तानको भ्रमण गर्न अस्वीकार गर्दै आएको छ ।
दुई देशले एकअर्काविरुद्ध आइसिसीका खेलमा मात्र प्रतिस्पर्धा गर्दै आएका छन् । सन् २०१२ मा पनि पाकिस्तानले द्विपक्षीय एकदिवसीय शृंखला खेल्न भारतको भ्रमण गरेको थियो । पाकिस्तानको अखबार द डनले पिसिबीको स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘यदि आयोजक पाकिस्तानबाट हटाइयो भने उसले प्रतियोगितामा खेल्न अस्वीकार गर्न सक्छ ।’ एजेन्सी ।






