
काठमाडौं । यूएईमा जारी आईसिसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्यान्डमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अलआउट भयो । थाइल्याण्डका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
थाइल्याण्डलाई सस्तैमा अलआउट गर्न नेपालका कुसुम गोदारले चार ओभरमा नौ रन दिएर तीन विकेट लिनुभयो भने रचनाकुमारी चौधरीले तीन ओभरमा ६ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै, रिया शर्माले चार ओभरमा १४ रन दिएर दुई विकेट लिइन् भने कप्तान पूजा महतोले चार ओभरमा दुई मेडन राख्दै दुई रन मात्र खर्चेर एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा सात चौकासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेल्नुभएको थियो ।
त्यस्तै ओपनर साबित्री धामीले २८ रन बनाउनुभएको थियो । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै समय १३ औं ओभरमा ८८-० को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाउँदै ५१ रन जोड्दा नौ विकेट गुमाएको थियो ।
थाइल्याण्डका लागि नथारिका ठोकोइले चार ओभरमा ३१ रन दिएर तीन विकेट लिनुभयो । यस्तै केसिनी कैजुम्फोलले दुई तथा कोरानित सुवाञ्चोनराथीले एक विकेट लिनुभयो ।
नेपालले यसअघि भएको पहिलो खेलमा पनि थाइल्याण्डलाई हराएको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो । यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको थियो । उक्त खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको हो ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्नेछन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुने छ । यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच